गिरीबन्धु टी-स्टेटका विषयमा कांग्रेस र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले गरेको टिप्पणीप्रति एमालेको आपत्ति

राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्न कांग्रेस सांसदको प्रस्ताव
जेष्ठ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
गिरीबन्धु टी-स्टेटका विषयमा कांग्रेस र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले गरेको टिप्पणीप्रति एमालेको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले गिरीबन्धु टी–स्टेटको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसदेखि काठमाडौं महानगरका प्रमुखसम्मले गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गरेको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले कांग्रेसका नेता र महानगर प्रमुख बालेन्द्र शाहले अध्यक्ष केपी शर्मा ओलीलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो । 

उहाँले काठमाडौं महानगरका प्रमुखले दिएको अभिव्यक्तिले नेताहरुको योगदानलाई अवमूल्यन गरेको दाबी गर्नुभयो । सांसद भट्टराईले अहिलेसम्म भएका भनिएका सबै भ्रष्टाचारका काण्डको छानबिनका लागि आफ्नो पार्टी तयार रहेको बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले यती, ओम्नीलगायतका भ्रष्टाचार छानबिन किन नगर्ने भन्ने प्रश्न उठाए । त्यस्तै सहकारी प्रकरणको निष्पक्ष छानबिन गर्न माग उनीहरुले गरेका छन् ।

नेपाली कांग्रेसकै सांसद सञ्जय गौतमले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको प्रस्तावसमेत गर्नुभएको छ । सत्तारुढ मा‌ओवादी केन्द्रका सांसदहरुले सरकारले विगतमा अगाडि बढाएका भ्रष्टाचार छानबिन मुद्दाले उत्साह ल्याएको भए पनि अहिले छानबिन सुस्ताएको त होइन भन्ने प्रश्नसमेत गरेका छन् । 

त्यस अगाडि शून्य समयमा बोलेका सांसदहरुले मनसुन सुरु हुन लागेको भन्दै त्यसका लागि सरकारको तयारी के छ भनेर सरकारसँग जानकारी मागेका छन् । उनीहरुले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न अहिलेदेखि नै तयारी तीव्र पार्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.