सहकारीको रकम अपचलनविरुद्ध सुरु भयो कांग्रेसको सडक आन्दोलन

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारीको रकम अपचलनविरुद्ध सुरु भयो कांग्रेसको सडक आन्दोलन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनविरुद्ध आजबाट सडकमा पनि आन्दोलन सुरु गरेको छ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसले आजबाट सडक आन्दोलन थालेको हो ।

केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार विरोध प्रदर्शन गरेको हो । गृहमन्त्री लामिछाने सहकारी बचत ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसलगायत विपक्षी दलहरुले संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । सदनमा यो माग उठाइरहेको कांग्रेस आइतबारदेखि सडक प्रदर्शनमा जुटेको हो ।

विरोध प्रदर्शनका क्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओली सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नामै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन चाहेको आरोप लगाउनुभयो । शर्माले सत्ताको गणितका कारण रविलाई देखाएर एमाले पार्टी पंक्तिलाई जोगाउने ध्यानमा ओली रहेको र सहकारी प्रकरणमा लामिछानेलाई साथ दिने र गिरीबन्धु प्रकरणमा साथ लिनेमा ओली रहेकोसमेत बताउनुभयो ।

शर्माले गृहमन्त्री लामिछानेको मात्रै नभई ७३ लाख सहकारी पीडितको विषय उजागर गर्न लागेको दाबी गर्नुभयो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै गिरफ्तार गरिएको तर दुईवटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुईवटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको भन्दै उहाँले छानबिनको मागसमेत गर्नुभयो ।

कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुका साथै केन्द्रीय नेताहरूसमेत प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, सह-महामन्त्रीद्वय बद्री पाण्डे, जीवन परिवार प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.