काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा किन अझै पत्ता नलगाएको भन्दै एमाले नेतृत्वलाई प्रश्न गर्नुभएको छ । सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा एमालेद्धारा आयोजित हिरक जयन्ति समारोहमा बोल्दै उहाँले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न गर्नुभएको हो ।
कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ थियो ।
'कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन,' सभापति देउवाले भन्नुभयो, 'हुँदाहुँदा उहाँको ड्राईभर पनि मारियो । त्यो पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन । मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ?'
एमालेबाट पटक-पटक प्रधानमन्त्री र राष्ट्रपति बन्दा पनि अझै हत्यारा पत्ता नलगाएको देउवाको आरोप थियो । 'कांग्रेसको विरोध गर्न सजिलो होला,' उहाँले भन्नुभयो, 'गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नु पर्यो नि । दुई पटक राष्ट्रपति बनिसक्नु भयो । प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन ।'