सुदूरपश्चिम सरकार गठन, सत्ता गठबन्धनबीच खटपट

वैशाख २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकार गठन, सत्ता गठबन्धनबीच खटपट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठबन्धनको विषयले सत्ता गठबन्धनमै खटपटको संकेत देखिएको छ । केन्द्रीय गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सदूरपश्चिममा कांग्रेससहितका दललाई स‍घाएपछि गठबन्धनमा खटपट देखिएको हो ।

हिजो बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बसेर सुदूरपश्चिममा मुख्यमन्त्री नाउपालाई दिने सहमति गरेको एकीकृत समाजवादीको आरोप छ ।

आजको बैठकमा आफूलाई निर्णय सुनाउन मात्रै बोलाइएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट हुँदै बाहिरिएका थिए । सुदूरपश्चिम मुख्यमन्त्रीमा एकीकृत समाजवादीको पनि दाबी थियो । तर नदिने देखिएपछि त्यसलगत्तै सुदूरपश्चिममा नयाँ समीकरण बनेको उपाध्यक्ष राजेन्द्र पाण्डेले दाबी गरे ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत गठबन्धनमा असहजता देखिएको स्वीकारे । प्रतिनिधिसभामा १० सांसद भएको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्व बाँडफाँट, राष्ट्रिय सभाको उपाध्यक्ष तथा मनोनीत सदस्यमा पनि आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.