कास्की । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आज संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले आज बिहान मात्रै एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको दाबी पेश गरेका थिए । दाबी पेश गरे लगत्तै उनलाई प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । उनको सपथ आजै हुने भएको छ ।
अधिकारी यसअघि २०७९ पुस २५ देखि २०८० वैशाख १४ सम्म मुख्यमन्त्री थिए । त्यतिबेला उनी एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि राजनीतिक घटनाक्रमले माओवादी कांग्रेससँग मिल्दा अधिकारीको सरकार ढलेको थियो ।
अहिले माओवादी र एमालेले सत्ता सहकार्य गरेपछि उनी मुख्यमन्त्री बनेका हुन् । यस पटक सरकार बनाउँदा राप्रपाले साथ दिएको छैन । त्यसैले उनले सभामुखलाई समेत माओवादी संसदीय दलको सदस्य मानेर मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर कांग्रेसले प्रदेश प्रमुखलाई ४ बुँदे असहमति पत्र लेखेको छ । सभामुख प्रयोग गरिनु असंवैधानिक भएकाले अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न कांग्रेसले आग्रह गरेको थियो ।
प्रदेश प्रमुखले अधिकारीलाई कांग्रेसको विरोधका बावजुद मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखसमेत गणना भएकाले यो विषय सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । यसअघि कोशी प्रदेशमा पनि यस्तै सभामुखको हस्ताक्षर प्रयोग भएपछि सर्वोच्चले त्यसलाई बदर गरिदिएको थियो ।