काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-ट्वान्टी आइ सिरिजमा नेदरल्यान्ड्सले दोस्रो जीत हात पारेको छ । गएराति भएको खेलमा माइकल लेभिटले उत्कृष्ट इनिङस खेलेपछि नेदरल्यान्ड्सले घरेलु टिमलाई १७ रनले पराजित गरेको हो ।
स्कटल्यान्डले ग्लास्गोमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रनको योगफल बनाएको थियो । ओपनर म्याक ओ डाउड २१ रनमा आउट भए । तेजा निदा मानुरु ३ रनमा मैदान बाहिरिए । लेभिट र कप्तान स्कट एडवडर्सले तेस्रो विकेटका लागि ७५ रनको साझेदारी गरेपछि नेदरल्यान्ड्सले विशाल योगफल बनाएको हो । एडवडर्सले ३१ रन जोडे । लेभिटले ५७ बलमा ९० रनको आक्रामक इनिङ्स खेले । उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
रायन क्लेइन २१ रनमा अविजीत रहे । ज्यास्पर डेभिडसन र चार्ली क्यासलले दुई-दुई विकेट लिए । जवाफमा स्कटल्यान्डले नौ विकेटको क्षतिमा १ सय ८१ रनमात्र बनाउन सक्यो । मार्क वाट ६ रनमा नै पभेलियन फर्किए । जर्ज मन्जीले २६ रन बनाउँदा कप्तान रिच्ची बेरिङटन दुई रनमै मैदान बाहिरिए । ब्रेन्डन मक्मलनले ५१ र माइकल लिस्कले ४६ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । तेजाले तीन र रोएलफ भान डेर मार्वीले दुई विकेट लिए ।
स्कटल्यान्डको यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा स्कटल्यान्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग बेहोरेको ३९ रनको हारको बदला पनि लियो । दुई खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।