जीबी राई गृहमन्त्रीको सम्पर्कमा हुनुभएको सूचना हामीसँग छ : विश्वप्रकाश शर्मा

कांग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा, संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नदिने
चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
जीबी राई गृहमन्त्रीको सम्पर्कमा हुनुभएको सूचना हामीसँग छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरेका हुन् । 

‘आज मैले यहाँ उभिएर प्रमुख प्रतिपक्ष दलको तर्फबाट बोल्दै गर्दा केवल प्रमुख प्रतिपक्षी दलको तर्फबाट मात्रै बोलिरहेको छैन,’ उनले भने, ‘५० हजारभन्दा बढी सहकारीका पीडित भएका नागरिकहरुको तर्फबाट पनि बोलिरहेको छु । उहाँहरुको तर्फबाट बोल्दै गर्दा मैले जानकारी गराउनुपर्छ, आजबाट हाम्रो अल्टिमेटम सकिएको घोषणा पनि मैले यहाँलाई सुनाउनुपर्छ ।’

सांसद शर्माले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्न समेत गरे । शर्माले आगामी संसद बैठकमा आउँदा संसदीय छानविन समिति बनाएर आउन सरकारलाई अपील समेत गरे । नेपाली कांग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ ।

‘संसद चलेन । संसद अवरुद्ध भयो । हामीले कसरी–कसरी संसद नचलेको हेरेका छौँ । संसद अवरुद्ध भएको हेरेका छौँ । संसदमा तोडफोड भएको हेरेका छौँ,’ उनले भने, ‘आज प्रमुख प्रतिपक्षको विनम्रता, शालिनता कमजोरी लाग्यो ? के प्रतिपक्षले उठाएका प्रश्न गलत लाग्यो ? त्यसैले अब आजको बैठक पछाडी सरकारलाई अपील छ । आउँदो बैठकमा आउँदै गर्दा सरकारले संसदीय छानवीन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँ न बाँया हामी उभिने छैनौँ ।’

सांसद शर्माले जीबी राईलाई ल्याउन किन ढिलाइ भएको भन्दै प्रश्न समेत गरे । ‘जीबी राईलाई लिएर आउने कुरामा के कुरामा ढिलाइ भएको छ ? खोज्ने काम सरकारको निकायले गर्ला तर हामीले पाएको सूचनाअनुसार जीबी राई गृहमन्त्रीजीको सम्पर्कमा हुनुहुन्छ,’ उनले भने, ‘आकाशमा गएर लुक । पातलमा गएर लुक भनिदिने तर आफूसँग सम्पर्कमा भएको तथ्यमा हामी पुगिसकेको तथ्यलाई पनि म राख्न चाहन्छु ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.