काठमाडौं । कोभिड महामारीका कारण बन्द भएका नेपाल र चीनबीचका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन तयार भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको भ्रमणका क्रममा चीन नाका खोल्न तयार भएको हो ।
कोरोना महामारीका क्रममा बन्द भएका रसुवागढी-केरुङ, तातोपानी-झाङमु, यारी-पुरान तथा नेचुङ-लिची नाका भने यसअघि नै खुलिसकेका छन् । चीनको ९ दिने भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले सीमा नाका खोलिएपछि चीन सीमा नजिक बसोबास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको जनाए ।
उनले नेपाल र चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग गठन गर्ने पनि सहमति भएको छ । यस्तै, चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालाई अन्तिम रुप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको पनि मन्त्री श्रेष्ठले बताए । बीआरआई परियोजना सकेसम्म अनुदानमा सञ्चालन हुनेमा नेपाल सरकारको जोड रहने उनको भनाइ छ ।
यस्तै, चीन भ्रमण गर्ने नेपाली पर्यटकलाई नि:शुल्क भिसा दिन पनि आफूले गरेको आग्रहलाई चीनले सकारात्मक प्रतिक्रिया दिएको पनि मन्त्री श्रेष्ठले बताए । यसैगरी, काठमाडौं र चीनको तिब्बतबीच सिधा बस सेवा पुनः सुरु गर्न पनि दुवै पक्ष सकारात्मक भएका छन् । सीमा क्षेत्रमा बहुउद्देश्यीय ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक भएको पनि जानकारी दिए ।
यस्तै, काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरमा थप उडान सञ्चालनमा ल्याउन पनि दुवै पक्ष सहमत भएको मन्त्री श्रेष्ठले बताए ।
यो पनि...
नेपाल आइपुगे चीन भ्रमणमा गएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ