नेपाल आइपुगे चीन भ्रमणमा गएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल आइपुगे चीन भ्रमणमा गएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन् । नौ दिनको औपचारिक भ्रमण सकेर उनी चीनबाट आजै स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको बताइएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्त्वपूर्ण हुने बताएका थिए ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए । उक्त भेटवार्तामा उनीहरूबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको जनाइएको छ । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् ।

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यसक्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए । सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरेका थिए । 

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा सो क्रामा भेटवार्ता पनि भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.