प्रदेशको नेतृत्व हत्याउन सत्ता गठबन्धनमा रस्साकस्सी

चैत्र ९, २०८० |दीपक आचार्य
प्रदेशको नेतृत्व हत्याउन सत्ता गठबन्धनमा रस्साकस्सी

काठमाडौं । संघको सत्ता बाँडफाँट बल्लबल्ल मिलाएका दलहरुबीच अब प्रदेशको सत्तामा कसले बाजी मार्ने भन्ने होडबाजी सुरु भएको छ ।

अहिले गठबन्धन दलहरुमा प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागिसकेको छैन । माओवादी केन्द्र आफूले गर्दै आएको प्रदेशको नेतृत्व जोगाउने रणनीतिमा छ भने एमाले यसअघि कांग्रेसले नेतृत्व गरेका प्रदेशमा आफ्ना नेतालाई मुख्यमन्त्री बनाउने र थप प्रदेशमा पनि उपस्थिति बलियो बनाउने कसरतमा छ ।

नेकपा एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई समेत भाग पुग्ने गरी प्रदेशको नेतृत्व भागबन्डा गर्ने तयारीमा संघीय सत्ता गठबन्धन दल छन् । तर कहाँ कसलाई नेतृत्व दिने अहिलेसम्म स्पष्ट खाका आइसकेको छैन । गठबन्धनको ठूलो दल एमाले कोशी र कर्णालीसहित लुम्विनी र गण्डकीमध्ये एक प्रदेशको नेतृत्वमा दाबी गरेको छ ।

मा‌ओवादी केन्द्र बागमती प्रदेशको नेतृत्वलाई निरन्तरता दिन र गण्डकी थप्न चाहन्छ । त्यसो हुँदा उसले कर्णाली छाड्नुपर्ने हुन्छ । त्यसमा प्रधानमन्त्री दाहालले पार्टीको आन्तरिक समीकरणसमेत मिलाउनुपर्ने हुन्छ । वर्षमान पुनलाई अर्थमन्त्री बनाएका पुष्पकमल दाहालले जनार्दन शर्माको चित्त बुझाउन कर्णाली नेतृत्वलाई निरन्तरता दिन पनि सक्छन् । मधेश सरकारमा एमाले सहभागी भइसकेपछि त्यहाँ जनता समाजवादी पार्टीकै नेतृत्वले निरन्तरता पाउनेछ ।

स‌ंघमा विश्वासको मत लिँदा नै शक्ति बाँडफाँटको अडान राखेको एकीकृत समाजवादीले सुदूरपश्चिमको नेतृत्व पाउने सम्भावना छ । तर गठबन्धन दलहरुमा नेतृत्व कसले लिने भन्ने सहमति गर्नभन्दा पनि अप्ठ्यारो प्रदेशको अंकगणित देखिन्छ । कोशी प्रदेशको नेतृत्व एमालेले लिन मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने हुन्छ ।

बागमती प्रदेशमा गठबन्धन जोगाउन दुई सदस्यको समर्थन थप्नुपर्नेछ । त्यहाँ कांग्रेसले समेत सरकार गठनको पहल गरिरहेको छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनभन्दा बाहिर रहेका दल तथा प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्ने हुन्छ । आफ्नो स्पष्ट बहुमत नभएका कारण सत्ता गठबन्धनले प्रदेशमा सत्ता समीकरण फेर्न सहज भने छैन ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।