काठमाडौं । चुनावमा कहिले कसले जित्ने र कहिले कसले हार्ने त भैरहन्छ । जनमत, समीकरण र पात्रको भूमिकाले पनि हारजित निर्भर हुन्छ । तर, नेपाली राजनीतिमा एउटा प्रवृत्ति देखिने गरेको छ, त्यो हो -जित्ने अवस्थामा आफ्नालाई टिकट दिने, हार्ने परिस्थिति भए अरुलाई अघि सार्ने । राष्ट्रपति चुन्दा होस् या अहिलेको राष्ट्रिय सभा अध्यक्षको चुनावमा पनि त्यही प्रवृति देखियो ।
राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने तत्कालीन सत्ता गठबन्धनको समझदारीअनुरुप नेता कृष्णप्रसाद सिटौला संविधानको मर्मविपरीत प्रतिनिधिसभाबाट चुनाव हारेको एक वर्षमै राष्ट्रिय सदस्य बने । तर, अध्यक्षकै निहुँमा फागुन २२ माओवादीले गठबन्धन फेरेपछि सिटौलाको हार निश्चित भयो, जसबाट उनी पछि हटे । नेतृत्वसँग नजिक भएर बारम्बार लाभको पद पाइरहेका सिटौलाको जित सुनिश्चित हुँदासम्म कांग्रेसले अरु नेता पनि योग्य छन् भन्ने सोच्दै सोचेन । तर, जब सिटौला पछि हटे, कांग्रेसले अर्का उम्मेदवार युवराज शर्मालाई अघि सार्यो, जसले सिटौलाभन्दा बढी राजनीतिक संघर्ष गरेका थिए। विगतमा नेतृत्वबाटै पाखा लगाइएका थिए, शर्मा ।
जित्ने परिस्थिति हुँदासम्म आफू र वरपरका, हार्ने भए अरुलाई अघि सार्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो होइन । पहिलो राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका रामवरण यादव निर्वाचित भए । तर, कांग्रेसले सुरुमै यादवलाई अघि सारेको थिएन। त्यतिबेला सभापति गिरिजाप्रसाद कोइरालाको नाम राष्ट्रपतिका रुपमा चर्चामा थियो । तत्कालीन राजनीतिक परिस्थितिमा हार्ने अवस्था देखिएपछि कोइराला पछि हटे र केन्द्रीय सदस्य यादवलाई अघि सारियो । तर, कोइरालाको आशंकाविपरीत यादव विजयी भए ।
२०६५ को राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार हार्ने परिस्थितिमा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाएको थियो । तर, २०७२ पछिको राष्ट्रपति निर्वाचनमा जित्ने परिस्थिति बनेका बेला एमालेले शाक्यलाई सम्झिएन, अध्यक्ष केपी ओलीनिकट मानिएकी विद्यादेवी भण्डारीलाई अघि सारियो, जसमा भण्डारी विजयी भइन् ।
गत फागुनमा भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा एमालेले राष्ट्रपतिमा ओलीनिकट इश्वर पोखरेलाई उठाउने चर्चा चल्यो । तर, एक्कासी फेरिएको राजनीतिक समीकरणमा एमाले पराजित हुने परिस्थिति सिर्जना भयो । त्यसपछि एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङ र उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई अघि सार्यो ।
संसदीय चुनावमा त जित सुनिश्चित भएका क्षेत्रमा नेताहरुले आफूनिकटकालाई पठाउने प्रवृत्ति पुरानै हो । नेताहरु पराजित हुने क्षेत्रमा भन्दा जित्ने क्षेत्रको टिकटका लागि मरिहत्ते गर्दै लबिइङ गर्ने गरेका छन् ।