राष्ट्रिय सभालाई सरकारले हेप्यो : विमला राई पौड्याल

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभालाई सरकारले हेप्यो : विमला राई पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले राष्ट्रिय सभालाई सरकारले बेवास्ता गरेको दाबी गरेकी छन् ।

राष्ट्रिय सभा बैठकमा बिहीबार आगामी आव ०८१/८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्री उपस्थित हुनुपर्ने प्रावधान रहे पनि कर्मचारीसमेत उपस्थिति नभएको भन्दै गुनासो गरिन् ।

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढेर सुनाउने अर्थमन्त्री प्रकाशशरण महत नै उपस्थित नभएको सभामा सरकारले सांसदहरुले राखेका धारणा कसरी सुन्छ र ग्रहण गर्छ ? भन्दै राईले प्रश्न गरिन् । उनले सम्बन्धित मन्त्रायलको विषयमा मन्त्री उपस्थिति नहुनुले राष्ट्रिय सभाको ओज घटेको आफूलाई महसुस भएको जानकारी दिइन् ।

‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्नेछ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ,’ उनले भनिन्, ‘आजको सम्बन्धित मन्त्री अर्थमन्त्री हो । किनभने उहाँले यो पढेर सुनाउनुभएको हो यहाँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता । उहाँ हुनुहुन्न । उहँसगै विशिष्ट कर्मचारीहरु पनि हुनुहुन्न । यो भनेको राष्ट्रिय सभाको आज अन्तिम दिनमा बोल्दै गर्दा किन हेपेको होला सरकारले राष्ट्रिय सभालाई भन्ने महसुस भयो । मेरो नियमापत्ति, विरोध नै हो । सरकारले चेतोस् ।’

उनले सुरु भइसकेका आयोजना कुनै पनि सरकारले सुरु गरे पनि पूरा गर्नेतिर बजेट र कार्यक्रमको ध्यान जानुपर्ने दाबी गरिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.