कांग्रेसले कसरी हेरिरहेको होला दाहाल र ओलीबीच बढ्दै गएको हिमचिम ?

फाल्गुन १६, २०८० |दशरथ राई
कांग्रेसले कसरी हेरिरहेको होला दाहाल र ओलीबीच बढ्दै गएको हिमचिम ?

काठमाडौं । गठबन्धन गरेर नेपाली कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री पनि हुने अनि कांग्रेस चिढिए एमालेसँग मिल्न पनि तयार हुने । प्रधानमन्त्री पुष्पकमल दाहालको यो चिरपरिचित चरित्रलाई अहिले नेकपा एमाले र नेपाली कांग्रेसले कसरी विश्लेषण गरिरहेका होलान् ? 

पछिल्लो समय सत्तारुढ नेकपा माओवादी केन्द्रले गठबन्धन दल कांग्रेससँग असन्तुष्टि बढाउँदै लगेको छ भने विपक्षी नेकपा एमालेसँग सम्बन्ध बढाउने प्रयास थालेको छ । कांग्रेस महासमिति बैठकमा उठेका विषयलाई लिएर माओवादी त्रसित हुन थालेको हो । कांग्रेससँगको गठबन्धन टुटेमा एमालेसँग मिल्ने रणनीति पनि माओवादीको छ । केही दिन यता माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बढ्दै गएको हिमचिमले पनि त्यसलाई पुष्टि गर्ने थप आधार बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालका पछिल्ला गतिविधिलाई नेकपा एमालेले माओवादीको रणनीतिको रूपमा अर्थ्याएको छ भने कांग्रेसले प्रधानमन्त्रीले 'एमाले कार्ड' फ्याँकेको टिप्पणी गरेको छ । सत्तारुढ माओवादी केन्द्रभित्र सहयात्री दल कांग्रेसप्रति असन्तुष्टि बढेको छ । कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा उठेका विषयलाई लिएर माओवादी केन्द्र त्रसित मात्र भएको छैन गठबन्धनको विकल्प खोज्नुपर्नेमा पुगेको छ । 

कांग्रेसले आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ । यसैगरी महासमिति बैठकले माओवादीको विद्रोहका कारण देशको विकास नै अवरुद्ध भएको ठहर गरेको छ । महासमितिमा हिन्दु राज्यको पक्षमा झन्डै आधा सदस्यहरूले हस्ताक्षर नै गरेका थिए । यिनै मुद्दालाई लिएर माओवादी काँग्रेससँग त्रसित भएको हो । योसँगै कोशी प्रदेशको मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभाको एक सिट पनि कांग्रेसकै कारण आफूले गुमाउनु परेको पीडा महसुस माओवादीले गरेको छ ।

कांग्रेससँग गठबन्धन गर्दा धोकै धोका मात्र पाएको भन्दै माओवादीले अब विकल्प खोज्न थालेको हो । त्यसका लागि माओवादी केन्द्रले एमालेसँग अनौपचारिक छलफल समेत सुरु गरेको छ ।

त्यसो त यसबीचमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको तिक्ततापूर्ण सम्बन्धमा पनि केही सुधार देखिएको छ । प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कहिले बालुवाटार तथा सिंहदरबारमा छलफल समेत भइरहेका छन् । कांग्रेस महासमिति बैठक बसिरहेकै बेला प्रधानमन्त्रीको सचिवालयले दाहाल र ओलीसँगै बसेको फोटोसमेत सार्वजनिक गरेको थियो ।

यसैगरी विभिन्न सार्वजनिक समारोहमा पनि उनीहरू सँगसँगै देखिन थालेका छन् । तर दाहाल र ओलीबीचको भेटघाटलाई मात्रै व्याख्या गरेर नयाँ गठबन्धन वा समीकरण बनाउन खोजिएको भन्न नमिल्ने दाबी एमालेको छ । एमाले नेताहरू त कांग्रेसलाई देखाउनकै लागि दाहालले यो प्रचारबाजी गरिरहेको दाबी गर्छन् । भविष्यमा के हुन्छ भनेर अहिले नै भन्न नसकिने तर्क एमालेको छ ।

नेपाली कांग्रेसले भने अहिलेसम्म सहमतिअनुसार नै गठबन्धन अघि बढिरहेको र निकट भविष्यमा पनि तलमाथि नहुने दाबी गरेको छ । अहिले माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेसलाई तर्साउन खोजेको भए त्यो उसैका लागि घातक हुने सक्ने चेतावनी दिएको छ ।

एमाले अध्यक्ष ओली कुनै पनि हालतमा वर्तमान सत्ता गठबन्धन बनेदेखि नै भत्काउने कसरतमा छन् । कांग्रेस र माओवादीबीचको अघिल्लो गठबन्धन भत्काउन पनि ओलीले रणनीतिक चाल चालेका थिए । अहिले फेरि कांग्रेस र माओवादीबीच देखिन थालेको खटपटको फाइदा लिन ओलीले कुनै नयाँ रणनीतिक कदम नचाल्लान भन्न चाहिँ सकिँदैन । तर वर्तमान सरकार बन्ने बेलामा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीलाई चक्मा दिएका माओवादी अध्यक्ष दाहाल पनि कम रणनीतिक भने छैनन् ।

यो एकता र सहकार्यको कुरा गरिरहँदा ओली र दाहालले पाँचवर्षअघि गठन गरेको नेकपाको पृष्ठभूमि चाहिँ त्यति सुखद छैन । त्यसैले वर्तमान पृष्ठभूमिमा दुवैले एक अर्कालाई यूज एन्ड थ्रो को रणनीति पनि अपनाउन सक्छन् । 


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।