निर्वाचन तयारीबारे सरकार र दलहरुबीच बालुवाटारमा छलफल

कार्तिक ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचन तयारीबारे सरकार र दलहरुबीच बालुवाटारमा छलफल

काठमाडौं। सरकारले आगामी फागुन २१ गतेको निर्वाचनको तयारीलाई लिएर मुख्य राजनीतिक दलहरुसँग बालुवाटारमा छलफल गरिरहेको छ । 

छलफलमा नेपाली कांग्रेसका तर्फबाट गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ सहभागी छन् । यस्तै एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, जसपा नेपालका तर्फबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल  र जनमतका नेता चन्दन सिंह सहभागी छन् ।

छलफलमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी छन् भने पर्यवेक्षकका रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी छन् । 

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिए पनि सरकारका तर्फबाट आफूहरुसँग दलहरुसँग छलफल र परामर्श नगरेको भन्दै दलहरुले आलोचना गर्दै आएका थिए । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव गर्ने कार्यादेश पाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.