मुखलाई मिठो तिहारका परिकार स्वास्थ्यका लागि नहुन सक्छ मिठो

कार्तिक ४, २०८२ |कृपाल गौतम
मुखलाई मिठो तिहारका परिकार स्वास्थ्यका लागि नहुन सक्छ मिठो

तिहारका बेला सेलरोटी, अनरसा, झिनियाजस्ता खानेकुरा घरघरै बनाइन्छन् । तिहार सकिएको केही दिनसम्म त विहानको नास्तादेखि दिउँसोको खाजासम्मै सेलरोटी हुनेगर्छ । तिहारका बेला मिठाइसमेत बढी खाइन्छ । तर तपाईंलाइ थाहा छ रु चिल्ला र गुलिया खानेकुरा बढी खाँदा स्वास्थ्यमा समेत असर पर्न सक्छ ।

देशभर तिहारको रमझम छ । यो बेला सेलरोटी, अनरसा र चिल्ला तथा गुलिया मिठाइ बढी खाइन्छ । भाइमसलाको रुपमा प्रयोग गरिने ड्राइफ्रुट्स पनि तिहारका बेला बढी बिक्री हुने गर्छ । यस्तै मिठाइको पनि यतिखेर खपत बढी हुने गर्छ जसका कारण व्यवसायीहरुलाई माग पुर्याउनै धौ-धौ छ । यस्तै खाद्य सामाग्रीको व्यापार गर्ने कृष्ण लामा अरुबेला भन्दा तिहारमा यस्ता वस्तुको माग ५ गुणा भन्दा बढि आउने बताउनुहुन्छ। 'एक महिनाअघि देखि प्रिपेड प्लान गर्दा पनि अहिले भ्याइरहेको अवस्था छैन,' उहाँले भन्नुभयो। अर्का व्यापारी अशोकप्रसाद घिमिरेको पनि उस्तै अनुभव छ।

तर चाडबाडका बेला खाइने यस्ता चिल्ला तथा गुलिया परिकारले स्वास्थ्यमा तत्कालदेखि दीर्घकालसम्म असर पर्न सक्ने चिकित्सक बताउँछन् । बढी गुलियो तथा चिल्लो खानाले पेट दुख्ने, झाडापखाला लाग्ने लगायतका समस्या निम्तन्छन् । अझ मधुमेह, उच्च रक्तचाप, मुटु रोगलगायत दीर्घरोग भएकाहरुले यस्ता परिकार खाँदा थप जटिलता निम्तन सक्छ । 

इन्डोक्राइनोलोजिस्ट डा. सञ्जीव तिवारी चिल्लो र अति गुलियो पदार्थ प्रयोग भएका यस्ता खाद्य पदार्थको अति सेवन गर्दा शरिरमा नकारात्मक असर पर्न सक्नेप्रति सचेत हुन सुझाउनुहुन्छ। उहाँ भन्नुहुन्छ,'प्रेसर, सुगरजस्ता समस्या भएका मानिसहरुले त अतिरिक्त सचेत हुनुपर्छ। दीर्घकालसम्म यस्को असर हुन सक्छ।'

यसो भन्दैमा खाँदै नखानु भनिएकोचाहिँ होइन । खानपानमा संयमित भएर ठिक्क मात्रामा ताजा तथा गुणस्तरीय खानपान गरेमा स्वास्थ्यको जोखिमबाट बच्न सकिन्छ । ओखर, काजु, पेस्तालगायत भाइमसलाको प्रयोगले स्वास्थ्यलाई फाइदा पुर्याउछ । तर यी कुरा पनि बढी खाएमा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले यदि कसैलाई कुनै रोग छ भने नियमित औषधि सेवन गरी जोखिम ख्याल गर्दै खानुपर्छ, जथाभावी खानु हुँदैन ।

मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटा खाँदा मिठो हुने भए पनि स्वास्थ्यमा असर गर्न सक्ने नराम्रो चिज पनि मिठाइमा हुन सक्ने भएकाले ध्यान दिनुपर्ने बताउनुहुन्छ। 'सकभर त्यो खालका परिकारहरु खाँदै नखाने, नभए घरमै बनाएर खाँदा राम्रो,' डा देवकोटाको सुझाव छ।

चाडबाडमा राम्रो देखाउनका लागि मिठाइमा हानिकारक रंगको प्रयोग गरिन्छ भने परिकारहरुमा पनि मिसावटयुक्त तेलको प्रयोग गरिन्छन्, जसले क्यान्सरसम्मको जोखिम निम्तन सक्ने चिकित्सकको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडबाडलक्षित अनुगमनका क्रममै पनि कतिपय मिठाइ पसलहरु कारबाहीमा परेका छन् । 

'असोज महिनाको विभिन्न कारबाही गर्दा लेबल नभएका, म्याद गुज्रिएका, स्थलगत परिक्षणका क्रममा मिठाइमा स्टार्स पोजेटिभ आयो भने त्यसमा पिठोहरु मिसाएको भन्ने बुझिन्छ। खुवामा पनि मिसावटहरु भइरहेको हुन्छ, अहिले पनि हुन्छ । यो क्रममा गरेको कारबाहीका आधारमा रु ८ लाख ६४ हजार भन्दा बढिका खाद्य परिकारहरु जफत गरी नष्ट गरिएको छ ।' - मतिना जोशी वैद्य, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।