काठमाडौं । सरकार र राजनीतिक दलहरुबीच आगामी फागुन २१ गतेका लागि तय भएको आम निर्वाचनबारे भइरहेको छलफलमा पर्यवेक्षक पनि सहभागी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पर्यवेक्षकका रुपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक हुनुहुन्छ । सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियार सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग चुनावको तयारीबारे छलफल गर्नुभएको हो । प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले दलहरुसँग छलफल गरेको यो पहिलो पटक हो । छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तथा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुनुहुन्छ ।
यसैगरी रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र प्रकाश ज्वाला जानुभएको छ । जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, राप्रपाबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ तथा जनमतबाट महामन्त्री चन्दन सिंह सहभागी हुनुहुन्छ ।
यस्तै लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिका रेशम चौधरी, नेमकिपाका प्रेम सुवाल छलफलमा सामेल हुनुभएको छ ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिए पनि सरकारका तर्फबाट आफूहरुसँग छलफल र परामर्श नगरेको भन्दै दलहरुले आलोचना गर्दै आएका थिए । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव गर्ने कार्यादेश पाएको छ।
तस्बिर-सर्वदलीय बैठकमा सहभागी केदारभक्त माथेमा (बायाँबाट दोस्रो) र विद्याधर मल्लिक (बायाँबाट तेस्रो) ।