भारत र इरानसँगको खेल क्षमता पहिचानको अवसर : सावित्रा भण्डारी

कार्तिक ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारत र इरानसँगको खेल क्षमता पहिचानको अवसर : सावित्रा भण्डारी

काठमाडौं । भारत र इरानसँगको महिला ट्राइ नेसन अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालका लागि आफ्नो क्षमता पहिचानको अवसर हुने कप्तान सावित्रा भण्डारीले बताएकी छन् । दुई नयाँ खेलाडी र तीन जनाले पुनरागमन गरेको अवस्थामा नेपाली टिममा नविन परीक्षण र नयाँ खेलाडीले पाउने अवसर मुख्य हुने छन् ।

भारतको सिलोङमा हुने प्रतियोगितामा भारत र इरानसँग एक-एक खेल खेल्नेछ। राउन्ड रोबिनशैलीको खेलपछि धेरै अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ। नेपालले यो प्रतियोगितामा नयाँ रणनीति र खेलाडी छनोटको प्रयोग गर्ने बताएको छ। नेपालले यसअघि भारतसँग १३ पटक र इरानसँग एक पटक खेलेको छ । नेपालसँगको हेड टू हेडमा भारत अघि भए पनि पछिल्ला केही खेलमा नेपालले भारतलाई हराएको छ।

इरान र भारत एएफसी एसियन कपमा छनोट भएका टोली हुन्। यी दुई टोलीले नेपालसँग खेलेर छनोटका तयारी गर्नेछ। नेपाल छनोट नभए पनि छनोटको नजिक पुगेर बाहिरिएको टोली हो त्यसैले नेपालसँगको तयारीले भारत र इरानलाई पनि फाइदा हुनेछ। नेपाली टिम दबाबरहित भएर खेल्ने योजनामा छ।

नेपालले यही कात्तिक ७ गते इरानसँग र १० गते भारतसँग खेल्ने तालिका छन्। त्यसपछि भारतको सिक्किमा नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ। सो खेलमा भने सावित्रा र प्रिति राई उपलब्ध हुनेछैनन्। यो खेल मैत्रीपूर्ण रहे पनि फिफा विन्डो बाहिर हुनेछ। भारत जाने नेपाली टोलीको आज विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघले जितको शुभकामनासहित खेलाडी विदाई गरेको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.