माओवादी अध्यक्ष दाहालको निर्देशन- सरकार ढाल्ने प्रयासमा एमाले छ, सचेत रहनू

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादी अध्यक्ष दाहालको निर्देशन- सरकार ढाल्ने प्रयासमा एमाले छ, सचेत रहनू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष एमालेले सरकार ढाल्ने प्रयास गरिरहेकाले सचेत रहन पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् । दाहालले हालको राजनीतिक अवस्था तरल, जटिल र पेचिलो रहेको पनि बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी केन्द्र स्थायी कमिटी बैठकमा प्रधानमन्त्री दाहालले सरकारका बारेमा जथाभावी नबोल्न नेताहरुलाई निर्देशन दिए । आफ्नै दलका नेताहरुले सरकारप्रति सार्वजनिक रुपमा आलोचना गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

आजको बैठकमा नेताहरुले विधान मस्यौदा केन्द्रित रहेरभन्दा समसामयिक विषयमा धारणा राख्न थालेपछि अध्यक्ष दाहालले विषयवस्तुमा केन्द्रित हुन रुलिङ गरेका थिए । बैठकमा पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको विधान मस्यौदाको प्रतिवेदनमाथि छलफलमा भाग लिने नेताहरुले पार्टी कमिटी ठूला आकारका बनेकाले घटाउनुपर्ने, विधानमा संविधानमै लेखिएजस्तो समाजवादउन्मुख राज्य व्यवस्था विचारधारा अपनाउनुपर्ने, संक्रमणकालीन न्यायसम्बन्धी कानुन सहमतिमा टुंग्याउनुपर्ने सुझाव दिएका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बस्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.