काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्य चुन्न माघ ११ गते हुने निर्वाचनका लागि दलहरू उम्मेदवार चयनको अन्तिम तयारीमा छन् । केही दलले उम्मेदवार तोकिसक्दा केही दल भने आन्तरिक छलफलमै छन् । सत्ता गठबन्धनका दलहरूले सबै १९ सिटमै साझा उम्मेदवार उठाउने गरी भागबन्डा गर्दा एमालेले १९ सिटमा नै उम्मेदवार तय गरेको छ । भोलि मनोनयन दर्ताका लागि दलहरूले तय गरेका उम्मेदवारहरूको पृष्ठभूमि के छ त ?
कांग्रेसले आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन । संस्थापन र इतर पक्षबीच भागबन्डा नमिल्दा छलफल लम्बिएको छ । सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री कृष्ण सिटौलालाई उम्मेदवार बनाउन चाहे पनि इतरपक्ष राजी भएको छैन । पूर्वगृहमन्त्री सिटौला संविधानसभाको पहिलो निर्वाचन र २०७४ तथा २०७९ को संसदीय निर्वाचन पनि हारेका नेता हुन् । गठबन्धनबाट १० सिट पाएको कांग्रेसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठसहितका धेरै नेता राष्ट्रिय सभा सदस्य बन्न लालायित छन् ।
सत्तारुढ पार्टी माओवादी केन्द्रले टुंगो लगाएका ६ उम्मेदवारमध्ये झक्कु सुवेदी र रेणु चन्दबाहेक बाँकी चारजना हालसम्म सांसद नभएका नेता हुन् । कोशी प्रदेशबाट उम्मेदवार बनाउन लागिएकी चम्पादेवी कार्की द्वन्द्वपीडित घाइते हुन् । उनले युद्धका क्रममा हात गुमाएकी छन् । समानुपातिक सूचीबाट नाम फिर्ता लिएर माओवादीले उनलाई राष्ट्रिय सभा सदस्य बनाउन लागेको हो ।
पार्टीको सम्पर्क समन्वय समितिका अध्यक्ष समेत रहेका श्रीकृष्ण अधिकारी पटक पटक समानुपातिक सूचीमा परे पनि सांसद बन्न नसकेका नेता हुन् । उनले यसपटक पनि निर्वाचन आयोगमा भएको बन्दसूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न लागेका हुन् ।
मनरुपा शर्मा पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन् । उनी पार्टीबाट अहिलेसम्म लाभको पदमा पुगेकी छैनन् । कर्णालीका विष्णु विश्वकर्मा पार्टीको केन्द्रीय सदस्य हुन् । लुम्बिनीबाट उम्मेदवार सिफारिस भएका झक्कु सुवेदी पहिलो संविधानसभामा नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई पराजित गरेर चर्चामा आएका नेता हुन् ।
उनी संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । सुदूरपश्चिमकी रेणु चन्द पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचित भएकी थिइन् भने संविधानसभाको दोस्रो निर्वाचनमा पराजित भएकी थिइन् ।
गठबन्धनबाट एक सिट पाएको जनता समाजवादी पार्टीले पूजा चौधरीलाई उम्मेदवार बनाउँदै छ । उनी रौतहट क्षेत्र नम्बर ३ को क बाट प्रदेशसभामा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन् ।
उपाध्यक्षसहित ५ पदाधिकारीले नै राष्ट्रिय सभा सदस्यका लागि रुचि देखाएका छन् । जसका कारण नाम छनोट गर्न नसकेपछि उम्मेदवार टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालले लिएका छन् ।
नेकपा एमालेले पनि फागुन २० गते रिक्त हुने १९ राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम तय गरिसकेको छ । क्लस्टर अनुसार १९ जना नै उम्मेदवार तय गरेको एमालेले यसअघि अवसर नपाएका नेताहरूलाई अघि सारेको छ ।