दार्चुलामा ४७ जनालाई जग्गाधनी पूर्जा वितरण

असार ३१, २०८२ |मनोज बडू
दार्चुलामा ४७ जनालाई जग्गाधनी पूर्जा वितरण

दार्चुला । जिल्लाको शैल्यशिखर नगरपालिकामा ४७ जनाले जग्गाधनी पूर्जा पाएका छन् ।

भूमि समस्या समाधान आयोगअन्तर्गतको जिल्ला समिति दार्चुलाले सोमबार शैल्यशिखर नगरपालिका-६ का मिलमिली, पनेवाँज, उल्लानी, ग्वानी र टुणका स्थानियलाई जग्गाधनी पूर्जा वितरण गरेको हो । 

शैल्यशिखर-६ का निवेदन दिएका ८१ जना अव्यवस्थित बसोवासीमध्ये ४७ जनालाई पूर्जा वितरण गरिएको जिल्ला समिति अध्यक्ष लालसिह धामिले बताउनुभयाे । बाँकि ३४ जनाले तोकेको राजश्व नबुझाएको हुनाले छुट्न गएका हुन् ।

विगतदेखी नै सरकारी जमिन चलनभोग गरिरहेका शैल्यशिखर नगरपालिका-६ का स्थानियलाई जग्गाको लालपुर्जा उपलब्ध गराउन जग्गाको नापजाँच, तथ्यांक सङ्कलन र नक्साङ्कन गर्न तथा राजस्व बुझाउन अनुरोध गरिएको छ । राजस्व बुझाइसकेपछि जुनसुकै बेला पनी जग्गाको पुर्जा उपलब्ध गराइने अध्यक्ष धामीले बताउनुभयाे ।

नेपाल सरकार भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लागत संकलन सम्बन्धी कार्यविधि २०७८ अनुसार जग्गाको नापजाँच फोल्ड मुचुल्का राजस्व संकलनलगायतका आवस्यक प्रक्रिया पुरा गरेर अव्यवस्थित बसोबासीलाई प्रमाण पूर्जा वितरण गरिएको नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्र सिंह धामीले जानकारी दिनुभयाे ।

शैल्यशिखर-६ का ४५ जनालाई २ सय ९४ रोपनीको प्रमाणपूर्जा वितरण गरिएको हो। जग्गा उपभोग गर्दै आएका स्थानीयहरूबाट ७ लाख ३८ हजार ५४ रूपैयाँ राजस्व सङ्कलन गरिएको अध्यक्ष धामिले जानकारी दिनुभयाे । यो जग्गाको पूर्जा पाएको १० वर्षसम्म जग्गाधनीले बिक्रि गर्न पाइने छैन् ।

शैल्यशिखर नगरपालिका-६ मात्रै तीन सय १५ जनाको अव्यवस्थित बसोबास रहेको वडाध्यक्ष जग्दिशसिह धामिले बताउनुभयाे । तीमध्ये ८१ जनाले निवेदन दिएको र जसमध्ये पनि ४७ जनाले नेपाल सरकारले तोकेको राजश्व तिरेका व्यक्तिहरूलाई जग्गाधनी पूर्जा पाएको उहाँले जानकारी दिनुभयाे ।

पूर्जा वितरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख महादेव बडू (कश्यप), प्रमुख जिल्ला अधिकारी अनिल पौडेललगायत शैल्यशिखर र मालिकार्जनका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । 


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।