बाराको सिम्रौनगढ नगरपालिकामा बेथितिका चाङ

जनप्रतिनिधिबीचको टकराबले सेवा प्रवाह नै ठप्प
मंसिर २९, २०८० |रमेश ठाकुर
बाराको सिम्रौनगढ नगरपालिकामा बेथितिका चाङ

बारा । स्थानीय तहका जनप्रतिनिधिहरू नागरिकको मुद्दा भन्दा आफ्नो स्वार्थमा लागेपछि बाराको सिम्रौनगढ नगरपालिकाको अवस्था गम्भीर बनेको छ । जनप्रतिनिधिहरूबीचको आरोप प्रत्यारोपले नगरक्षेत्रमा बेथिति मात्र बढेको छैन, विवाद बढ्दै जाँदा भएको झडपमा एक जनाको ज्यान समेत गएको छ । 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयलाई लिएर भएको झडपमा प्रहरीको गोली लागेर बुधवार लक्ष्मी मुखिया बिनको मृत्यु भएको हो । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरूको आन्दोलनले सेवा प्रवाह नै ठप्प भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकामा असोज ३० गतेदेखि शिक्षा, स्वास्थ्य लगायत करारका सम्पूर्ण कर्मचारी दिनहुँ धर्नामा बस्ने गरेका छन् । शिक्षकहरू विद्यालय बन्द गरी अहिले आन्दोलनमा छन् । उनीहरू आफ्ना माग बारे यसरी सुनाउँछन् ।

त्यस्तै जनप्रतिनिधिहरूको पीडा छुट्टै छ । नगर प्रमुखले पटक पटक गरेको सम्झौताबाट पछि हटेका कारण समस्या समाधान नभएको उनीहरू बताउँछन् । तर नगर प्रमुख भने समस्याको समाधानप्रति वडा अध्यक्षहरू अगाडी नबढेको आरोप लगाउने गरेका छन् ।

यता विकसित र समृद्ध नगर बनाउन जनताले मत दिई जिताएर पठाएका जनप्रतिनिधिहरू आ-आफ्नो स्वार्थका लागि सामान्यदेखि महत्त्वपूर्ण विषयहरूमा लडिरहेका छन् । ‘विद्यालयहरू बन्द छन् । अस्पताल बन्द भइरहेका छन् । नगरपालिका बन्द भइरहेको छ,’ स्थानीय अबास अन्सारी सोध्छन्, ‘कर्मचारी भएनन् भने कसरी काम हुन्छ ?’

जनप्रतिनिधि बीचको टकराबले स्वास्थ्य, शिक्षा, कृषि, भौतिकपूर्वाधार लगायत हरेक क्षेत्रको अवस्था नाजुक बनेको छ । यो पालिका उपराष्ट्रपति रामसहाय राय यादव, मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको गृह पालिकासमेत हो ।


Image

रमेश ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददाता हुन् ।