संघर्षमा उत्रिने चेतावनीसहित छिटो कानुन निर्माण गर्न प्रधानमन्त्रीलाई मधेश सरकारको ध्यानाकर्षण

मंसिर २४, २०८० |कान्तिपुर टीभी संवाददाता
संघर्षमा उत्रिने चेतावनीसहित छिटो कानुन निर्माण गर्न प्रधानमन्त्रीलाई मधेश सरकारको ध्यानाकर्षण

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मुख्यमन्त्री नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो ।

त्यसक्रममा मधेश प्रदेश सरकारको टोलीले संविधानमा व्यवस्था भए बमोजिमका संघीय कानुनहरु छिटो निमार्ण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

भेटमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न संघीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू संघर्षमा जाने चेतावनी दिएका छन् ।

जवाफमा प्रधानमन्त्रीले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै संघीयताको जन्मदाता भएको स्पष्ट पार्दै संघीय कानुनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका थिए ।

‘संघीयताका निम्ति सबैभन्दा बढी लडेको पार्टी हाम्रै पार्टी हो । संघीयताका पक्षमा लगातार संघर्ष गर्ने नेता म नै हुँ । संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति मैले गरेको संघर्ष र पहल तपाईंहरूले देख्नुभएकै छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अहिले पनि संघीय कानुनहरू समयमै निर्माण गर्न मैले निरन्तर पहल गरिरहेको छु । तपार्इंहरू सबैले यसमा साथ दिँदै आउनुभएको छ । तपाईहरूले आ–आफ्नो पार्टीमा पनि पहल बढाउनुस् र संघीयता कार्यान्वयन प्रभावकारी बनाऔँ ।’

प्रधानमन्त्री दाहालले संघीयतासम्बन्धि विधेयकहरु सरकारले अगाडि बढाएको जानकारी दिँदै अन्तिम फैसला संसदले गर्ने भएकाले अहिले संघर्षका कार्यक्रम थाँती राख्न आग्रह गरेका थिए । उनले त्यसका लागि सबैको संयुक्त पहल जरुरी रहेकाले थप पहलमा केन्द्रित हुनु पर्ने आवश्यकता रहेको बताएका थिए ।

छलफलमा प्रधानमन्त्रीको आग्रहलाई आफूहरूले सकारात्मक रूपमा लिएको मुख्यमन्त्री यादवले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.