काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व जलवायु सम्मेलनका अवसरमा आफूले नेपाललाई जलवायु वित्त र न्याय सुनिश्चित गर्नेतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले यसपटक नेपालले आफ्नो अधिकारका पक्षमा वकालत गर्न सफल भएको दाबी गरे । उनले राष्ट्रसंघ महासचिवले नेपाललाई प्राथमिकताको सूचीमा राखेकाले पनि अब आर्थिक र प्राविधिक सहयोग आउने कुरामा ढुक्क हुने अवस्था रहेको बताए ।
प्रधानमन्त्री दाहालले यसपटक पर्वतीय मुद्दाको नेतृत्व नेपालले गरेको पनि बताए । सम्मेलनका अवसरमा विश्व तापमान वृद्धिको सीमा कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वान गरेको उनले बताए । यस्तै, जोखिममा परेका समुदायका लागि वित्तिय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको उल्लेख गरे ।
प्रधानमन्त्री दाहाल आजै विश्व जलवायु सम्मेलनका क्रममा आयोजित ‘सबैका लागि पूर्वचेतावनी प्रणालीको विकास’ विषयक सत्रमा सहभागी भएका थिए । उक्त सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले जोखिममा परेका समुदायलाई जोगाउन सन् २०२७ सम्ममा सबैका लागि पूर्वचेतावनी पहल आवश्यक भएको बताए ।
आजै सम्मेलनका अवसरमा मेलम्ची नदीको जोखिम मापनसम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।
यसैबीच, एसियाली विकास बैंकले हिन्दुकुश हिमालय क्षेत्रको जलवायु तथा विपत् जोखिमको पहिचान र व्यवस्थापनका लागि सहयोग गर्ने भएको छ । नेपाल तथा भुटानमा हिमताल विस्फोटलगायतबाट हुने बाढीपहिरो तथा भूकम्पजस्ता बहुआयामिक जोखिमको गहन अनुसन्धानमा प्राविधिक सहयोग पुर्याउने एडीबीले जनाएको छ ।
दुबईबाट स्वदेश आइपुगे प्रधानमन्त्री दाहाल
नेपालीले भोग्नुपरेका असरबारे विश्वकै ध्यानाकर्षण गराएँ : प्रधानमन्त्री दाहाल