काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री दाहाल स्वदेश आइपुगेका छन् ।
दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर स्वदेश फर्किएका दाहाल साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले उनको स्वागत गरे ।
हिजो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका थिए । उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई अपिल गरेका थिए ।
उनी गत मंसिर १३ गते सो सम्मेलनमा सहभागी हुन दुबई प्रस्थान गरेका थिए ।