संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छः गृहमन्त्री लेखक

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान संक्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेर छोड्ने दाबी गर्नुभएको छ ।

बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचनेको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न सरकार अघि बढिसकेको जिकिर गर्नुभयो । उहाँले मुलुकमा स्थिरता प्रदान गर्ने, सुशासन दिने, यस्ता संक्रमणकालीन न्याय जस्ता देशका प्राथमिकताका विषयलाई सम्बोधन गर्नका लागि यो सरकार बनेको बताउनुभयो ।

सरकारमा संलग्न राजनीतिक दलहरुका बीचमा भएको सहमतिअनुसार सरकार अघि बढ्ने बताउँदै सफारिस समितिले आफ्नो सिफारिसको काम अघि बढाइसकेको बताउनु भयो ।

उहाँले संक्रमणकालीन न्यायको आजको परिस्थितिलाई यदी कुनैपनि नाममा अल्मल र कुनैपनि नाममा अवरुद्ध भए दोस्रो पटक यसलाई फेरि लयमा ल्याउन धेरै समय र धेरै अफ्ठ्यारो हुने बताउनुभयो ।

सिफारिस समितिलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी ढंगले सिफारिस गर्न दिन उहाँले आग्रह गर्नुभयो । आयोगमै पीडितको प्रतिनिधित्वको विषय पनि सिफारिस समितिसँग कुरा गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

त्यो हुन नसके नयाँ संशोधनमा, ऐनमा पीडित समन्वय इकाइ भनेर गठन गरिएको र त्यसलाई नियमावलीमा थप स्पष्ट पारेर व्यवस्था गर्न सकिने बताउनुभयो । पीडितलाई संक्रमणकालीन न्यायको प्रक्रियाबाट बाहिर राखेर संक्रमणकालीन न्यायको प्रक्रिया ठिक ढंगले निष्कर्षमा नपुग्ने बताउनु भयो ।

गृहमन्त्री लेखकले पीडितलाई केन्द्रबिन्दुमा राखेर नै संक्रमणकालीन न्याय सम्बोधन गर्ने बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.