नेपालीले भोग्नुपरेका असरबारे विश्वकै ध्यानाकर्षण गराएँ : प्रधानमन्त्री दाहाल

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालीले भोग्नुपरेका असरबारे विश्वकै ध्यानाकर्षण गराएँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व जलवायु सम्मेलनका अवसरमा आफूले नेपालको जलवायु अनुकूलनका लागि जलवायु वित्त र न्याय सुनिश्चित गर्नेतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दाहालले विश्व तापमान वृद्धिको सीमा कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वान गरेको जनाए । सम्मेलनमा सहभागी हुन उनी मंसिर १३ गते दुबई गएका थिए ।

प्रधानमन्त्री दाहाल आजै विश्व जलवायु सम्मेलनका क्रममा आयोजित ‘सबैका लागि पूर्वचेतावनी प्रणालीको विकास’ विषयक सत्रमा सहभागी भएका थिए ।

जलवायु परिवर्तनबाट प्रभावित मुलुकका प्रतिनिधि सहभागी उक्त सत्रलाई सम्बोधन गर्दै राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले जोखिममा परेका समुदायलाई जोगाउन सन् २०२७ सम्ममा सबैका लागि पूर्वचेतावनी पहल आवश्यक भएको बताए । यो महत्त्वाकांक्षी उद्देश्य भए पनि उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ छ ।

गुटेरेसले विश्व तापमान १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य हासिल गर्न जैविक इन्धनको प्रयोग निश्चित समयसीमाभित्र अन्त्य गर्नुपर्ने उल्लेख गरे । पेरिस सम्झौताको लक्ष्य हासिल गर्न ग्रिन हाउस ग्यास उत्सर्जनलाई सन् २०१० को तुलनामा २०३० भित्र ४५ प्रतिशतमा झार्नुपर्ने उनको भनाइ छ ।

दुबईबाट स्वदेश आइपुगे प्रधानमन्त्री दाहाल

उक्त सत्रमा नेपालसहित स्विट्जरल्यान्ड, सोमालियालगायत जलवायु परिवर्तनबाट प्रभावित मुलुकका प्रतिनिधि सहभागी थिए ।

आजै सम्मेलनका अवसरमा मेलम्ची नदीको जोखिम मापनसम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।

यसैबीच, एसियाली विकास बैंकले हिन्दुकुश हिमालय क्षेत्रको जलवायु तथा विपत् जोखिमको पहिचान र व्यवस्थापनका लागि सहयोग गर्ने भएको छ । नेपाल तथा भुटानमा हिमताल विस्फोटलगायतबाट हुने बाढीपहिरो तथा भूकम्पजस्ता बहुआयामिक जोखिमको गहन अनुसन्धानमा प्राविधिक सहयोग पुर्याउने एडीबीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.