प्रधानमन्त्री चीन गएकै दिन किन गर्‍यो भारतले शृंखलाबद्ध ट्विट ?

आश्विन ७, २०८० |अमृत दाहाल
प्रधानमन्त्री चीन गएकै दिन किन गर्‍यो भारतले शृंखलाबद्ध ट्विट ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिलगायत एजेन्डामा सहमति गर्ने तयारी गर्दै छन् । तर, प्रधानमन्त्री आठदिने भ्रमणका लागि हाङचोउ पुगेकै दिन शनिबार नेपालस्थित भारतीय दूतावासले नेपालको विकासमा आफ्नो भूमिका देखाउने खालका शृंखलाबद्ध ट्विट गर्‍यो । यसलाई कूटनीतिज्ञहरुले भारतको नेपालप्रतिको मनोवैज्ञानिक दबाबका रुपमा अर्थ्याएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार हाङचोउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे । झन्डै उही समयमा नेपालस्थित भारतीय दूतावासले नेपालको विकासमा भारतीय भूमिका देखाउने गरी एकपछि अर्को ट्विट गर्‍यो । नेपाली र अंग्रेजी भाषामा गरिएका ट्विटमा प्रधानमन्त्री दाहालको गत जेठको भ्रमणयता अघि बढेका भारतीय सहयोगका विकास आयोजनाबारे उल्लेख गरिएका छन् । ट्विटमा नेपाल-भारत विकास साझेदारीले थप गति लिएको भन्दै त्यसलाई पुष्टि गर्ने प्रयास गरिएको छ ।

२०७२ मा संविधान जारी भएलगत्तै भारतले गरेको अघोषित नाकाबन्दीयता नेपाल र चीनबीच उच्चस्तरीय भ्रमण आदान-प्रदान भएका छन् । नाकाबन्दीकै सेरोफेरोमा चीनसँग पारवहन तथा रेल्वे सम्झौता तथा रणनीतिक महत्त्वको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) सम्झौतासम्म आइपुग्दा चीनसँग नेपालको निकटता बढ्दै गएको विश्लेषण भारतीय पक्षले गर्दै आएको छ । अझ प्रधानमन्त्रीको यो भ्रमणमा बीआरआई परियोजना अघि बढाउने नेपालको तयारीले भारत अझ सतर्क रहेको अवस्थामा यो प्रतिक्रिया आएको कूटनीतिज्ञहरुको विश्लेषण छ ।

‘भारत बढी संवेदनशील देखिन्छ । रियाक्ट गरिहाल्छ तुरुन्तै । चीनको अलि शान्त कूटनीति छ,’ माओवादी केन्द्रका सचिव सुरेन्द्र कार्कीले भने, ‘स्वभाविकै रुपमा आफ्नो घनिष्ठ छिमेकी कतै हामीभन्दा टाढा त जाने होइन भन्ने कतै लाग्न सक्ला ।’

त्यसो त, प्रधानमन्त्री दाहाललाई पनि दुवै छिमेकीलाई विश्वासमा लिइराख्न सकस छ । भारतसहितका पश्चिमा मुलुकसँग नेपालको बढ्दो निकटताका कारण नेपालप्रति चीनको आशंका र अविश्वास कायमै छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन भइसक्दा बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन नेपालको आलटालले पनि चीन असन्तुष्ट छ । प्रधानमन्त्रीले चीन भ्रमणमा निस्कनुअघि चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) तथा अमेरिकाको इन्डोप्यासिफिक स्ट्राटेजीजस्ता कुनै पनि मुलुकका सुरक्षा रणनीतिमा सहभागी नहुने बताएका थिए र चिनियाँ नेतृत्वसँग पनि यसप्रति आश्वस्त पारेको बताइएको छ ।

नेपालमा शक्ति राष्ट्रको स्वार्थ र चासो बढिरहेको जगजाहेर छ । यस्तो अवस्थामा नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई बिर्सन नहुने त छँदै छ, दुवै छिमेकीलाई विश्वासमा लिने र सबै शक्तिलाई सन्तुलनमा राख्ने कूटनीतिक चातुर्य नअपनाउने हो भने त्यसले गम्भीर परिणाम निम्तन सक्नेतर्फ सचेत हुनैपर्छ । 


Image

अमृत दाहाल

दाहाल कान्तिपुर टेलिभिजनको डेस्कमा कार्यरत छन् ।