पार्टीलाई कार्ययोजना र कार्यतालिकाअनुसारै चलाउन शेखर समूहको माग

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
पार्टीलाई कार्ययोजना र कार्यतालिकाअनुसारै चलाउन शेखर समूहको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिकाअनुरुप नै चलाउनुपर्नेमा जोड दिएको छ ।

बालुवाटार स्थित कोइरालाको सम्पर्क कार्यालयमा मंगलबार बसेको कोइराला पक्षधर नेताहरुको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिकाअनुरुप चलाउनुपर्नेमा जोड दिएको हो । कांग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेन्डा तय गर्न बसेको बैठकले कार्यतालिकाअनुसार सांगठनिक गतिविधि भए/नभएको समीक्षा गर्दै तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको एजेण्डाको विषयमा छलफल केन्द्रित भएको बताउनु भयो । उहाँले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्वन गरेको कार्यतालिकालाई अवरुद्ध गर्नु नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरुको मत रहेको बताउनु भयो । उहाँले आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्नका लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि छलफल भएको जानकारी दिनुभयो । पार्टीको आगामी १५ औँ महाधिवेशनको तयारीको सम्बन्धमा पनि छलफल भएको नेता बडूले बताउनु भयो ।

‘सांगठनिक रुपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढिरहेको छ । एकचरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समीक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रुपमा अगाडि बढाउनुपर्छ । त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन,’ उनले भने, ‘नीति अधिवेशनका रुपमा महासमिति बैठक बोलाउने कुरा गरेका छौं । महासमिति बैठकलाई व्यवस्थित गर्न के-कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौं ।’

नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रीय समिति बैठकमा समीक्षा हुने जानकारी दिए ।

बैठकमा कोइरालासँगै, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सह-महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मीनेन्द्र रिजाललगायत नेताहरुको उपस्थिति थियो । बैठकमा आगामी मंसिर १३ गतेदेखि काठमाडौंमा बस्ने महासमिति बैठकको एजेन्डाका विषयमा समेत छलफल भएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएकामा उनीहरु अनुपस्थित भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.