गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

आश्विन २, २०८० |कान्तिपुर टीभी संवाददाता
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने जनाएका छन् ।

मंगलबार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६ औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै नेता सिंहले सहमति कार्यान्वयनमा जोड दिएका हुन् ।

उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने धारणा राखे । उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको उल्लेख गरे । नेता सिंहले पार्टी भित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामाभन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने स्पष्ट पारे ।

‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रुपमा हुन्छ सबै कुरा । सरकार गठन हुँदा जुन दलहरुबीचको समझदारी हो त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी कमजोरी तथा असन्तुष्टिलाई समेट्न सक्छौँ,’ उनले भने, ‘गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्ने कुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रीय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।’

नेता सिंहले संविधानको भावना र मर्म अनुरुप चाँडोभन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने जनाए ।

Enter Kantipur TV HD
Advertisement