प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासिचव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्य कार्यालयमा उनीहरुबीच आज भेटवार्ता भएको हो ।

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य तथा अतिकम विकसित देशहरूको आर्थिक विकासलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको पनि प्रधानमन्त्रीले जनाएका छन् ।

आजदेखि सुरु हुने संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल शनिबार न्युयोर्क प्रस्थान गरेका थिए । राष्ट्रसंघको महासभामा नेपालका तर्फबाट चार वर्षपछि सरकार प्रमुखका रूपमा प्रधानमन्त्री दाहालले भौतिक रूपमै उपस्थित भएर सम्बोधन गर्नेछन् । दाहालले असोज ४ गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।

महासभालाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री दाहाल १९ औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीन जानेछन् । हाङजाओमै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आगामी असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

Enter Kantipur TV HD
Advertisement