बागमती प्रदेशका मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

भाद्र ३०, २०८० |सुजन पुडासैनी
बागमती प्रदेशका मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

हेटौँडा । केही दिनअघि प्रहरीले बरामद गरेको करिब एक किलो सुन प्रकरणमा बागमती प्रदेशका मन्त्रीको नाम मुछिएको विषयमा बागमती प्रदेश सभामा प्रमुख प्रतीपक्षी नेकपा एमालले सरकारसँग जवाफ माग गरेको छ ।

शनिबार बसेको प्रदेश सभा बैठकको विषेश समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको नाम सुन तस्करी प्रकरणमा मुछिएको विषय सञ्चारमाध्यममा आएको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।

बैठकमा बोल्दै नेता थपलियाले मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएकाले यस विषयमा सरकारले सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्ने जनाए । ‘आज हाम्रै प्रदेश सरकार मन्त्री उपर, मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करका सन्दर्भमा व्यापक पत्रपत्रिकामा आएको छ,’ उनले भने, ‘त्यो हो–होइन ? सरकारले यस सदनमा सूचित गराउनु पर्दछ । यदि उहाँ निर्दोष हो भने त्यो कुरा सम्बन्धित मन्त्री र सरकारले बोल्नु पर्दछ ।’

यस्तै नेता थपलियाले हेटौँडाको सन्चो अस्पतालमा भएको चिकित्सक कुटपिट प्रकरणमा संलग्न दोषीहरुलाई कडा कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा विज्ञान प्रविधि नवप्रर्वद्धन तथा विकास कोष सञ्चालन विधेयक ,प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।

बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक असोज १४ गतेका लागि बोलाइएको छ ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।