प्रधानमन्त्री दाहालको चीन भ्रमण : ६ गते राष्ट्रपति र ८ गते प्रधानमन्त्रीलाई भेट्ने

भाद्र २९, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहालको चीन भ्रमण : ६ गते राष्ट्रपति र ८ गते प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते हाङझाउमा भेट्ने भएका छन् । त्यसपछि हाङझाउमै हुने एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुने उनको तालिका रहेको छ ।

प्रधानमन्त्री दाहाल असोज ५ गते चीन पुग्नेछन् । दाहाले शुक्रबार चीन अमेरिका भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिँदै भने, ‘संयुक्त राष्ट्रसंघको महासभालाई गर्ने सम्बोधन र चीन भ्रमणबीचको तालिका अत्यन्तै छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै चीन जान लागेको हो ।’

त्यस्तै, असोज ८ गते बेइजिङमा चिनियाँ समकक्षी प्रधानमन्त्री ली खछ्याङ भेटवार्ता गर्ने तालिका रहेको छ । त्यसपछि तिब्बत भ्रमणमा त्यहाँ शीर्ष नेतासँग शिष्टाचार भेट गरेर स्वदेश फर्किने प्रधानमन्त्रीको भ्रमण तालिका रहेको छ ।

यो भ्रमणमा नेपाली जनताको हित र दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन केन्द्रित रहेका दाहालको प्रतिबद्धता छ । दाहालको यो प्रधानमन्त्रीको हैसियतले तेस्रो भ्रमण हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.