काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको जनाएको छ ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको जनाए । उनले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसाबले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गरे ।
‘प्रधानमन्त्रीले संसद्माथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमानमाथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसद्मा भूमिका निर्वाह गर्नेछौं । संसद्मा जोडदार साथ राख्ने । प्रधानमन्त्रीको निजी विषय होइन,’ उनले भने, ‘देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकाले बैठक अवरुद्ध हुनसक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसाबले, सबै हिसाबले उहाँले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको परिस्थिति देख्छौं ।’
उनले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले संसद्मा कडा ढंगले प्रस्तुत हुने स्पष्ट पारे ।