तीन दिनमा ९ सय ११ विस्थापित परिवारको विवरण संकलन

वैशाख १४, २०८३ |नारायण किलम्बू
तीन दिनमा ९ सय ११ विस्थापित परिवारको विवरण संकलन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका विभिन्न सार्वजनिक जग्गा र नदी किनाराबाट विस्थापित सुकुम्वासीहरूको पारिवारिक विवरण संकलन गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तीन दिनमा करिब एक हजारको हाराहरीमा पारिवारिक लगत संकलन गरेपछि वास्तविक सुकुम्वासीको पहिचान गरी दिगो व्यवस्थापन गर्ने तयारी रहेको सरकारले जनाएको छ । 

हालसम्म ९ सय ११ परिवारका २५ सय जनाको विवरण संकलन भइसकेको छ ।

तीन दिनअघि छोरा गुमाएका ५४ वर्षिय हस्तबहादुर तामाङ मनोहराको सुकुम्वासी बस्ती हटाएपछि काजक्रिया गर्नसमेत पाउनुभएको छैन । डेढ दर्शकदेखि सुकुम्वासीमा बस्दै आएका तामाङको परिवार शोककै समयमा सुकुम्वासीको लगत दर्ता गर्न रंगशालामा पुगेको हो । आमा अपाङ, बुबा मुटुरोगी भएका तामाङको ७ जनाको परिवार अहिले छिमेकी कहाँ बस्दै आएको छ ।

तामाङको परीवार सरकारले सुकुम्वासीको उचित व्यवस्थापन गर्ने आशामा छ ।

काठमाडौँ उपत्यकाको नदी किनारमा अतिक्रमण गरेर अव्यवस्थित रूपमा बसोबास गर्दै आएका बस्ती खाली गरेपछि सरकारले तीन दिनदेखि उनीहरूको पारिवारिक विवरण संकलन गरिरहेको छ ।

सुकुम्वासी बस्ती खाली गरेपछि मनोहरा र गैरीगाउँका बस्ती खाली गरेपछि त्यहाँ रहेका २६ जना तेस्रो लिङ्गीसमेत विस्थापित भएका छन् । घरपरिवार छोडेर आएकाले कोठासमेत सहजै नपाउने भएकाले सुकुम्वासीलाई जस्तै आफूलाई पनि व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन् ।

सरकारले सुकुम्वासीको पारिवारिक विवरण संकलन गरी छिटो दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।