लालपुर्जा वितरण कार्यक्रममा सांसदकै अघि अमिनलाई घुस दिनुपरेको गुनासो गरेपछि...

वैशाख १४, २०८३ |आरएन विश्वास
लालपुर्जा वितरण कार्यक्रममा सांसदकै अघि अमिनलाई घुस दिनुपरेको गुनासो गरेपछि...

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाडामा जग्गाधनी दर्ता प्रमाणपत्र वितरण कार्यक्रम चलिरहँदा सेवाग्राहीले अमिनलाई घुस दिनुपरेको गुनासो गरेका छन् । मञ्चमै उठेको गुनासोमा अमिनहरूले हजारौँ रकम असुलेको विषय सार्वजनिक भएपछि कार्यक्रम नै विवादित बनेको छ । सम्बन्धित अधिकारीले प्रमाणसहित उजुरी गर्न आग्रह गरे पनि सेवाग्राही विश्वस्त देखिएका छैनन् ।

शुक्रबार दिउँसो सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडामा नापी कार्यालय सप्तरीले गाउँ बल्कको जग्गाधनी दर्ता प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरेको थियो । नापी कार्यालयले पहिलो चरणमा उक्त वडाका ३ सय ४६ जना बल्क जग्गाधनीलाई प्रमाणपत्र वितरणसँगै बीचबीचमा मन्तव्य कार्यक्रम राखिरहेको थियो । तर, कार्यक्रमका प्रमुख अतिथि रास्वपाबाट निर्वाचित सप्तरी ३ का सांसद अमरकान्त चौधरी बोलिरहँदा २-३ जना सहभागी सेवाग्राहीले लालपूर्जा लिन घुस दिनुपरेको गुनासो गर्दै हल्ला गर्न थाले । 

त्यसक्रममा सांसद चौधरीले पहिले घुस लिए पनि अब भने कसैले नलिने आश्वासन दिँदै मन्तव्य छोट्याउनुभयो । नापी कार्यालयका प्रमुख शत्रुघ्न यादवले घुस लिएको भन्ने प्रमाणसहित आफूलाई सीधै खबर गर्नू भनेर मञ्चबाटै मोबाइल नम्बर टिपाउन थाल्नुभयो । तर, सेवाग्राहीले होहल्ला गर्दै अमिनहरूले आफूहरूसँग ५ देखि १४ हजारसम्म घुस लिएको गुनासो गरी नै रहे ।

स्थानीय सेवाग्राहीहरूले विरोध जनाउँदै नापीका कर्मचारीले जग्गा नाप-नक्सा र प्रमाणपत्रका लागि रकम लिएको कुरा भन्न छाडेनन् ।

त्यसपछि हामीले सांसद चौधरीलाई पछ्यायौँ । सेवाग्राहीले अमिनलाई घुस दिनुपरेको प्रस्टै भनेका छन्, अबदेखि लिने छैनन् भन्ने आश्वासन दिएर तपाईँको जिम्मेवारी पूरा हुन्छ त भनेर सोध्दा उहाँको गोलमटोल जवाफ आयो ।

सेवाग्राहीले खुलेआम घुसको आरोप लगाइरहँदा पनि जिम्मेवार पक्षको अस्पष्ट धारणा र कमजोर जवाफदेहिताले गम्भीर प्रश्न उठाएको छ । सार्वजनिक कार्यक्रममै घुस दिनुपरेको आरोप आउँदा पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिनु भनेको सुशासन कायम गराउने सवालमा ठूलो कमजोरी हो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।