विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ भित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् ।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नभएको भन्दै दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङ्गले असार २१ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीको नियुक्ति गरी निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
उपधारा २ वा ३ अनुसार जाने भन्ने विवाद देखिएपछि कानूनी परामर्श गरेर उपधारा २ अनुसार सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ ।
यता कोशी प्रदेश सरकार गठनका लागि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिले आफूले नै मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन् । आलोपालो सरकारको नेतृत्व गर्नु गठबन्धनबीच सहमति भएपनि कसले पहिले नेतृत्व गर्ने भन्नेमा कुरा मिल्न सकेको छैन ।
कोशी प्रदेशका कांग्रेस र माओवादी केन्द्रका नेताहरु काठमाडौँमा आएर शीर्षनेतालाई भेटी नेतृत्वको छिटो टुङगो लगाउन आग्रह गरिसकेका छन् । गठबन्धन दलबीच केन्द्रमा जुन दलको प्रधानमन्त्री रहन्छ त्यहि दलले कोशी प्रदेश सरकारको नेतृत्व गर्ने विकल्पमा समेत छलफल भएपनि सहमति भइनसकेको नेताहरुको भनाइ छ ।
जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्की शुक्रबारको संसदबाट विश्वासको मत नपाएपछि काम चलाउ भइसकेका छन् । जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभामा विश्वास गुमाएपछि नयाँ सरकार बनाउने कसरत सुरु भएको हो ।
कोशी प्रदेशमा कुनै दलको प्रष्ट बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठबन्धन सरकार बनेको थियो ।