राजनीतिक संरक्षणको आडमा फेरि मौलाउँदै गुन्डागर्दी, सुरक्षामा चुनौती बढेपछि प्रहरीले तयार पार्‍यो ६० जनाको सूची

सरकारमा रहेकै दलका कारण कारबाही गर्न प्रहरीलाई चुनौती
फाल्गुन १, २०८१ |रमेश धमला
राजनीतिक संरक्षणको आडमा फेरि मौलाउँदै गुन्डागर्दी, सुरक्षामा चुनौती बढेपछि प्रहरीले तयार पार्‍यो ६० जनाको सूची

काठमाडौं । राजनीतिक संरक्षणमा हुने गुण्डागर्दी केही वर्षयता नियन्त्रणमा थियो । तर नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला राजनीतिक दलको सरकार बनेपछि भने प्रहरीका लागि शान्ति सुरक्षा नियन्त्रणमा राख्न चुनौती देखिएको छ । राजनीतिक आडमा आक्रमण र आपराधिक घटना बढ्नुका साथै टोलमा गुन्डा समूह समेत सक्रिय देखिएपछि प्रहरीले ६० जनाभन्दा बढीको सूची नै तयार पारेको छ ।

गत आइतबार काठमाडौंको ठमेलमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेर हिँडिरहेका समूहलाई सम्झाउन खोज्दा प्रहरीमाथि नै आक्रमण भयो । शान्ति सुरक्षा कायम गराउन ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गर्नेहरू एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूका सदस्य थिए । प्रहरीले केहीलाई पक्राउ गरे पनि केही अझै फरार छन् । यसैगरी जन्मदिन मनाउँदा केक तरबारले काटने र समाजमा अराजकता निम्त्याएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ‍७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांशको पृष्ठभूमि गुन्डागर्दी नै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

समाजलाई आतंकित बनाउने आपराधिक तथा गुन्डा समूह सक्रिय रहेको तथ्य गत कात्तिकमा लाजिम्पाटमा एक व्यवसायीमाथि भएको आक्रमणले पनि देखाउँछ । घरजग्गा व्यवसायी नुवाकोटका विक्रम लामामाथि पैसा लिएरै रडले आक्रमण गरिएको थियो । घटनाका आरोपित पक्राउ परे पनि काठमाडौंमा पेशेवर र राजनीतिक आवरणमा गुन्डागर्दी सक्रिय रहेको तथ्यले देखाएको छ ।

काठमाडौंभित्रका टोलमा राजनीतिक पार्टीमा आबद्ध भएका समूह नै शान्ति सुरक्षामा असर पार्ने गरी सक्रिय भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्ता समूहका सदस्यहरूको सूची नै तयार पारेको छ । विगतमा जेल बसेर निस्किएका र धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट आएका नयाँ समूह पनि सक्रिय देखिएका छन् । करिब ६० जना गुन्डा समूहको पहिचान र सूची तयार भएकाले राजनीतिक दलको बदनाम गराउन सक्रियहरू कारबाहीको दायरामा आउने प्रहरीको चेतावनी छ ।

काठमाडौंको कुमारीगालमा गत माघ २७ गते दुई समूहबीच चक्कु हानाहान हुँदा एक जनाको मृत्यु भयो । गत आइतबार पनि एक समूहले प्रहरीमाथि नै आक्रमण गरेपछि गृहमन्त्रीले नै निर्देशन दिनुपर्ने स्थिति सिर्जना भयो । राजनीतिक संरक्षणमा रहेको देखिएका यिनै व्यक्ति र समूह शान्ति सुरक्षाका लागि अहिले चुनौती बनेका छन् ।

काठमाडौंमै गुन्डागर्दी गरेका दीपक मनाङे आफैंले २० वर्षअघि गरेको अपराधको सजाय अहिले भोगिरहेका छन् । कुमार घैंटे र दिनेश अधिकारी चरी प्रहरी कारबाहीमा मारिएपछि केही समूह तितरबितर भएका थिए । अहिले एमाले र कांग्रेसकै सरकार भएका बेला तिनै पार्टीमा आबद्ध भएकाहरू सक्रिय भएको प्रहरीको बुझाइ छ । आर्थिक र अन्तरदेशीय अपराधले सुरक्षा चुनौती थपिरहेका आपराधिक समूह नियन्त्रणमा दलहरूबाटै अवरोध भए त्यसले शान्ति सुरक्षा नै प्रभाव पार्ने जोखिम बढेको प्रहरीको निष्कर्ष छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement