काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कांग्रेससँगको समझदारीमा काम गरिरहेको बताउँदै विद्रोहको नाममा शान्ति सुरक्षा र लोकतन्त्रविरुद्ध कसैले कदम चाले तिनलाई काठमाडौंको भञ्ज्याङ नै कटाउने चेतावनी दिनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनेक देशका नाम लिएर विद्रोहको धम्की नदिन चेतावनी दिनुभयो । माओवादी केन्द्रका र एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अगतिला तत्त्वको बेहाल भएको दाबी गर्नुभयो ।
“शिवजीले पनि अगतिला तत्त्वहरूलाई बोकेर हिँड्दा भएन भने हामीले बोकेर पार लाग्छ ? भएका तत्त्वहरूलाई शिवजीले त बोकेर हिँड्दाखेरी सतीदेवीलाई त बचाउन सकेनन् । यी न सतीदेवी र न सत्यदेवी । यी गैरतत्त्वहरू । यी हामीले बोकेर पार लाग्छन् ?”, उहाँले भन्नुभयो ।
समाजवादी मोर्चालाई लक्षित गर्दै उहाँले हात्तीको शिकार गर्न १०-१२ वटा स्याल जम्मा भएर कुदेको टिप्पणी गर्नुभयो । “अहिले एउटा मोर्चा कि के बनाएका छन् नि । मोर्चा पनि अलिकति एमाले र कांग्रेस जस्तो गरिखाने खालको बनाउनु नि बनाएपछि । हात्तीको शिकार खेल्छु भनेर १०-१२ वटा स्याल जम्मा भएर वरपर कुदेका छन् । मोर्चा भनेर”, उहाँले भन्नुभयो ।
पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै भ्रम फैलाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकारलाई झिना मसिना दल फुटाउने आवश्यकता नै नभएको बताउनुभयो ।
आज पनि प्रधानमन्त्री ओलीले २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दोहोर्याउनुभयो ।