अध्यादेशको अस्त्रले ओलीलाई नै निर्वस्त्र बनाइदियो : प्रभु साह

फाल्गुन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
अध्यादेशको अस्त्रले ओलीलाई नै निर्वस्त्र बनाइदियो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गर्नुभएको छ । रौतहटमा यमुनामाई गाऊपालिकाको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झन्डै दुईतिहाइ बहुमतको हावा गफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि समान्य बहुमत समेत नभएको बताए ।

“तपाईं (ओली) आफैंले ल्याएको अध्यादेशको अस्त्रले तपाईं आफैंलाई निर्वस्त्र बनाइदिएको छ । दुनियाँले देखिरहेको छ तपाईंसँग समान्य बहुमत पनि छैन । त्यसैले तपाईंले कुर्सी छोड्दा नै देश र जनताको हित हुन्छ” साहले भन्नुभयो ।

अध्यक्ष साहले प्रधानमन्त्रीसँग आफैंले ल्याएको अध्यादेश पारित गर्ने बहुमत समेत नभएकाले कुन नैतिकताले पदमा बसेको भन्दै प्रश्न पनि गर्नुभयो ।“म प्रधानमन्त्रीज्यूसँग सोध्न चाहन्छु, तपाईंले त झन्डै दुईतिहाइको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर तपाईं आफैंले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईंसँग समान्य बहुमत छैन् । तपाईं कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?”, साहले भन्नुभयो, “तपाईंले अध्यादेश संसद्‌मा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभयो ?”

साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको पनि टिप्पणी गर्नुभयो । उहाँले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।

“यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक, अदृश्य एवं अनैतिक हो, यो केवल केपी शर्मा ओलीज्यू र शेरबहादुर देउवाज्यूको स्वार्थको बन्धन हो । दुनियाँले हेरिरहेको छ यो स्वार्थको गठबन्धनले दलाल, बिचौलिया, भ्रष्टहरूको सेवामा समर्पित छ”, आजपा अध्यक्ष साहले भन्नुभयो, “बीपी कोइरालालाई आदर्श मान्ने कांग्रेस र मदन भण्डारीलाई आदर्श मान्ने एमालेका नेता कार्यकर्ताले यो ठगबन्धनलाई कसरी स्वीकारेको होला ?” 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement