आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बेला आयो : माओवादी अध्यक्ष दाहाल

फाल्गुन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बेला आयो : माओवादी अध्यक्ष दाहाल

गुल्मी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटमा निर्मित शहीद शमशेर स्मृति पार्क उद्घाटन तथा शहीदहरूको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

“एकथरिले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ”, उहाँले भन्नुभयो, “तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसूस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन्, अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बेला आएको छ ।”

युवाहरू विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारी सिर्जना गरेर विदेश जान बाध्य युवाहरूलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरूले योजनाबद्ध पहल थाल्नुपर्ने बताउनुभयो । “हामी जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं । अब हामीले राजनीतिक रूपमा पनि समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं । हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रूपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा बढाउनुपर्ने बेला आएको छ”, उहाँले बताउनुभयो ।

अमेरिकाले थालेको आप्रवासी निष्कासन कार्यक्रम, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरू वैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आँकलन गर्दै अध्यक्ष दाहालले त्यसका लागि समेत तयारी अवस्थामा बस्न आवश्यक रहेको बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement