कोशीमा नेतृत्वको रस्साकस्सी, अल्पमतमा कार्की नेतृत्वको सरकार

जेष्ठ २४, २०८० |महाप्रसाद खतिवडा
कोशीमा नेतृत्वको रस्साकस्सी, अल्पमतमा कार्की नेतृत्वको सरकार

विराटनगर । जसपाले जेठ १७ गते र २३ गते नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

कोशी प्रदेशको जटिल अंकगणितका कारण आगामी राजनीतिक परिदृष्य स्पष्ट भइसकेको छैन । ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाको ६ गरी ४६ जनाको समर्थन छ भने विपक्षमा ४७ जना प्रदेशसभा सदस्य छन् ।

सभामुख माओवादी केन्द्रका बाबुराम गौतम रहेका र सभामुखले मतदान गर्न नपाउने भएका कारण नयाँ गठबन्धनको सरकार बने पनि विश्वासको मत लिन गाह्रो छ । जसले गर्दा अबको राजनीति कसरी अगाडि बढ्छ स्पष्ट हुन सकेको छैन ।

बहुमत गुमाइसकेको सरकारले बुधबारै मन्त्रिपरिषद्‍ बैठक बसेर पहिचानवादीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

वार्ता समितिमा उद्योग कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन् । बुधबारै नेपाली कांग्रेस संसदीय दलको बैठक बसेर सत्ता पक्षले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेकामा भर्त्सना गरेको छ । कांग्रेसले अध्यादेशमार्फत सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै प्रदेशसभालाई छलेर सरकारको नीति तथा कार्यक्रम र बजेट नल्याउन चेतावनी दिएको छ ।

कांग्रेस नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने पनि संसदीय दलको बैठकले निर्णय गरेको प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।

थप समाचार...

कोशी प्रदेश सरकारको पुँजीगत खर्च ४० प्रतिशत, थपियो अनियमितताको जोखिम
कोशी प्रदेश सरकार : सत्तापक्षभित्रै अविश्वास र शंका (रिपोर्ट)
कोशी प्रदेशमा सत्ता परिवर्तनको प्रयास, सरकारको नेतृत्व गर्ने कांग्रेसको दाउ
कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।