कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो

जेष्ठ २३, २०८० |महाप्रसाद खतिवडा
कोशी प्रदेश सरकारबाट माओवादी बाहिरियो

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालिँदै आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

नेकपा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको हो । आजै (मंगलबार) माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री कार्कीसमक्ष राजीनामा बुझाएका छन् । यसअघि हिजो (सोमबार) बसेको माओवादी संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा कोशी सरकार गठन गर्ने निर्णय गरे पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै टुंगो गरेको थिएन ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । राष्ट्रपति निर्वाचनमा यो गठबन्धन फुटेर कांग्रेस, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि केन्द्रसहित प्रदेशमा नयाँ गठबन्धनको सरकार गठन भए पनि माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरेकाले कोशी प्रदेशमा भने एमाले नेतृत्वकै सरकार कायम छ ।

जसपाले यसअघि नै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्रीलाई राप्रपाको मात्रै समर्थन रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै रहेकाले सरकार अल्पमतमा परेको छ ।

कोशी प्रदेशमा सत्ता परिवर्तनको प्रयास, सरकारको नेतृत्व गर्ने कांग्रेसको दाउ


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।