कोशी प्रदेश सरकार : सत्तापक्षभित्रै अविश्वास र शंका (रिपोर्ट)

जेष्ठ ३, २०८० |महाप्रसाद खतिवडा
कोशी प्रदेश सरकार : सत्तापक्षभित्रै अविश्वास र शंका (रिपोर्ट)

विराटनगर । नयाँ गठबन्धन बनेपछि केन्द्र र प्रदेशका ६ वटा सरकार फेरिएका छन् । तर कोशी प्रदेशमा सत्ता समीकरणको खेल अझै चलिरहेको छ । बरु माओवादी केन्द्र र जसपाले सरकार नछाडेको भनेर कांग्रेस असन्तुष्ट बनेको छ । माओवादीले भने विकल्पको आधार तयार भएको भन्दै सरकार छाड्न आनाकानी गरिरहेको छ । कोशीमा सत्तापक्षभित्रैको अविश्वास र शंका बढ्दै छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन पुस १० गते भत्किएपछि केन्द्र र ६ वटै प्रदेशमा नयाँ सरकार बने । तर एमालेकै नेतृत्वको कोशी प्रदेशको सरकारलाई नयाँ गठबन्धनले अझै भत्काउन सकेको छैन । बरु माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एमालेलाई दिएको समर्थन फिर्ता नलिँदा नेपाली कांग्रेस सशंकित बन्दै गएको छ ।

असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानका कारण पनि कांग्रेसले अहिलेको सरकार छिटो फेर्न चाहन्छ । कांग्रेस कोशी प्रदेशको नेतृत्वले गठबन्धनका शीर्ष नेतालाई भेटेरै माओवादी केन्द्र र जसपाले सरकार नछाडेकामा असुन्तुष्टि जनाएको छ ।

‘यो दोहोरो चरित्र भयो । सरकारमा पनि बस्ने, गठबन्धनमा पनि छौं भन्ने । त्यसो भएर हामीले चाँडोभन्दा चाँडो सरकारबाट नेकपा माओवादी केन्द्र र जसपाले दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिनुपर्छ भन्ने कुरा हाम्रो छ,’ नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले कान्तिपुर टेलिभिजनसँग भने, ‘यी कुरा हामीले सम्बन्धित दलका नेताहरुलाई पनि भनिसकेका छौं ।’

पुस २५ गते गठन भएको वर्तमान सरकारले बजेट ल्याउँदा आफ्नो योजना नपर्ने र कतै एमाले-माओवादी मिलेर अघि बढे सत्ता आफ्नो हातमा पर्दैन कि भन्ने शंका कांग्रेसमा देखिन्छ । माओवादी केन्द्रले भने वैकल्पिक सरकार बन्ने परिपक्व आधार नबन्दा सरकार नछाडेको दाबी गर्छ ।

‘हाम्रो कारणले मात्र अड्किएको विषय होइन,’ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘वैकल्पिक सरकार बन्ने परिपक्व आधार हुनुपर्‍यो । त्यो आधारमा शीर्ष नेताहरुले कसरी अगाडि बढ्ने भन्नेबारेमा आधारभूत निर्णय गर्नुपर्यो ।’ त्यो निर्णय नै नगरेका कारणले आफूहरु रोकिएको आङ्बोको भनाइ छ । ‘अहिले हामीले सरकारलाई समर्थन दिइराखेका छौं । सरकारमै सहभागी छौं । ’

९३ सदस्यीय कोशी प्रदेशमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाको एक गरी नयाँ गठबन्धनमा ४७ जना सदस्य छन् । अर्कोतिर नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना छन् ।

सरकार गठनका लागि नयाँ गठबन्धनसँग बहुमत पुगे पनि सभामुख माओवादी केन्द्रको भएका कारण विश्वासको मत लिन समस्या हुने नेतृत्वको बुझाइ छ । अर्थात् प्रदेशसभामा पक्ष र विपक्षमा ४६-४६ हुने देखेर सत्ता गठबन्धन सरकार फेरबदलमा डराएको देखिन्छ । जटिल अंकगणितका कारण नयाँ गठबन्धनको सरकार बन्न कठिन भइरहँदा कोशी प्रदेशका नेताहरु केन्द्रमा दौडधुप गरिरहेका छन् ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement