बजेटले जनताको हितलाई प्राथमिकता राखेन : वामदेव गौतम

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
बजेटले जनताको हितलाई प्राथमिकता राखेन : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको जनाएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटबारे छलफलमा सहभागी हुँदै उनले यस्तो जनाएका हुन् । उनले सरकारले चार करोड कित्तामा विभाजित कृषि भूमिलाई तीव्र गतिमा विभाजित गरी कित्ताकाट तुरुन्त लागु गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हितमा ध्यान दिनबाट चुकेको छ भन्नेकुराको पुष्टि भएको धारणा राखे । कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगीकरण प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ । उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको जनाए । उनले बजेटबाट सरकारले राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न नसकेको दाबी पनि गरे ।

‘कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगीकरण आजको प्राथमिकतामा पर्नुपर्छ । त्यसका लागि ठूलो मात्रामा विद्युतीय ऊर्जाको आवश्यकता पर्छ । हामीसँग कृषि उत्पादनको क्षेत्र करिब २६ लाख हेक्टर छ । यदि यसलाई प्राथमिकतामा राखेर अघि बढाउन हो भने प्रतिवर्ष काम गर्ने उमेर भएका १० लाख युवाहरुले रोजगारी प्राप्त गर्नेछन् । यो क्षेत्रलाई हरेक वर्ष पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसलाई ५ वर्ष नै प्राथमिकतामा राख्दा विदेशमा रहेका सबै नेपालीहरुलाई स्वदेशमा नै रोजगारी प्राप्त गर्नेछन्,’ उनले भने, ‘तर बजेटले न कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न सकेको छ, न राष्ट्रिय बजारको संरक्षण गर्न सकेको छ । न अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न सकेको छ ।’

गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउनेबाहेक अन्य काम गर्न नसक्ने दाबी गरे । सरकारले जनताको हित हुने कुरामा ध्यान दिन नसकेको दाबी पनि गरे । ‘अहिलेसम्मको चलनचल्तीमै बजेट रुमल्लिएको छ । कृषि उत्पादनको क्षेत्रमा आमूल परिवर्तन गर्नेतर्फ दृष्टि पुग्न सकेको छैन । कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगीकरणको महत्त्व वर्तमान सरकारले बुझ्न सकिएको देखिएन,’ उनले भने, ‘अहिले यो बजेटमा चार करोड कित्तामा विभाजित कृषि भूमिलाई अरु तीव्र गतिमा विभाजित गरी ज्यानमारा किसान कित्ताकाटलाई तुरुन्त लागु गर्ने उल्लेख गरिएको छ । यसले के देखिन्छ भने वर्तमान सरकार आकाश-पातालको कुरा धेरै गर्छ, कुरा जे पनि गर्छ, जनताको हित हुनेकुरा प्राथमिकतामा राख्न सकेको छैन ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement