दुई ठूला पार्टीहरूको गठबन्धन धेरै जाला जस्तो लाग्दैन : वर्षमान पुन

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुई ठूला पार्टीहरूको गठबन्धन धेरै जाला जस्तो लाग्दैन : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्ता गठबन्धन धेरै अगाडि जान नसक्ने बताउनुभएको छ । आइतबार संसद् भवन परिसरमा उहाँले नीति तथा कार्यक्रममा नीति कांग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाउनुभयो ।

उहाँले नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्ता गठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गर्नुभयो । उहाँले उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको दाबी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री गम्भीर नदेखिएको उहाँको भनाइ छ । युवामा देखिएका निराशा चिर्ने गरी युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सरकार उल्टो बाटो हिँडिरहेको छ । प्रतिक्रिया दिन पनि अप्ठ्यारो छ । नीति तथा कार्यक्रममा नीति मात्रै ल्यायो कार्यक्रम ल्याएन । अहिले चाहिँ बजेटको सिद्धान्त र प्राथमिकता ल्याउनुपर्नेमा फेरि कार्यक्रम ल्यायो । सरकार नै अलमलमा परेको देखिन्छ । नीति कार्यक्रममा नीति कांग्रेसको कार्यक्रम एमालेले बाँडेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरू कार्यक्रममा राखेको जस्तो देखिन्छ । यस्तो अफ्ठ्यारोमा छ सरकार । नीति एकातिरबाट कार्यक्रम अर्कोतिरबाट ल्याउनुपर्ने । दुई ठूला पार्टीहरूको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले । उहाँहरुको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाइने भयो ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.