मन्त्रिपरिषद् बैठकका निर्णय : आवश्यक सेवामा हड्ताल निषेधको आदेश जारी गरिने

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
मन्त्रिपरिषद् बैठकका निर्णय : आवश्यक सेवामा हड्ताल निषेधको आदेश जारी गरिने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वेका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने सरकारले निर्णय गरेको छ । यसका लागि सो वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृत दिने निर्णय पनि बुधबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गरिने भएको छ । त्यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ ।

मन्त्री शर्माले जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भ्रमण स्वीकृत निर्णय भएको जानकारी दिइन् ।

त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको मन्त्री शर्माले जनाइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.