संसद्‌मा एमालेको नाराबाजी, २० मिनेटका लागि स्थगित

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा एमालेको नाराबाजी, २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद्‌हरुले नाराबाजी गरेर अवरोध गरेका छन् । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद् चल्न नदिने अडान लिएका थिए ।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएम्म संसद् चल्न नदिने अडान राखेका थिए ।

प्रतिनिधिसभामा शुक्रबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि यो कुरा उठेको थियो । केही ढिलो गरी सुरु भएको सभामा एमालेले सुरुमै यो विषयमा सरकारको जवाफ मागेको थियो ।