काठमाडौं । नेपाली कांग्रेस भित्रको किचलो बढ्दै जाँदा महाधिवेशन भएको डेढ वर्ष नबित्दै विशेष महाधिवेशनको माग हुन थालेको छ । सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर सुरु भएको असन्तुष्टि चुलिदाँ नेतृत्व तहमै रहेका नेताहरुले महाधिवेशन माग गर्न थालेका हुन् । तर यो माग सम्बोधन भने त्यति सजिलो देखिँदैन ।
सभापति शेरबहादुर देउवा एकलौटीरुपमा अघि बढेको र कुनै पनि विषयमा पार्टीमा छलफल नै हुन नसकेको दाबीसहित महामन्त्री गगन थापाले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको डेढ वर्ष नबित्दै विशेष महाधिवेशनको माग गरेका हुन् । सभापति देउवाले केन्द्रीय समितिको बैठकसम्म नराखी आफूखुसी निर्णय गरेको भन्दै विशेषगरी युवा नेता चिढिएका हुन् ।
कांग्रेसको केन्द्रीय समिति ९ महिनादेखि बस्न सकेको छैन । पदाधिकारी बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पटकपटक केन्द्रीय समिति बोलाउन माग गर्दा पनि देउवाले चासो दएका छैनन् । सरकारमा पार्टी सहभागी हुनेदेखि मन्त्रीको नाम पठाउने विषयमा पनि सामूहिक छलफल नभएको ठहर दुई महामन्त्रीको छ । त्यसैगरी संघ र प्रदेशको निर्वाचनको समीक्षासमेत कांग्रेसले गर्न सकेको छैन । अझ आफ्नै नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरण जस्तो गम्भीर अपराधमा मुछिँदा नेतृत्व मौन छ । आरोपीलाई तत्काल पार्टी जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने माग उढ्दा सभापति देउवा मौन छन् । बरु उल्टै आफूसँग भेट्न आउनेहरुलाई खाणको विषयमा कुरा नगर्न सुझाव दिने गरेका छन् । पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङसहित दुई महामन्त्रीले यसबारे पटकपटक चासो देखाउँदा र केन्द्रीय समिति बोलाउन माग गर्दा देउवाले बेवास्ता गरेपछि विशेष महाधिवेशन नै माग हुन थालेको हो ।
देउवाले नै नेतृत्व सम्हालेपछि विशेष महाधिवेशनको माग उठेको यो दोस्रो पटक हो । २०७४ सालको चुनावमा कांग्रेसले अपेक्षित नतिजा ल्याउन नसकेपछि उठेको नेतृत्व परिवर्तनको माग त्यसै सेलायो । कांग्रेसको विधानमा विशेष महाधिवेशनको व्यवस्था छैन । तर २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बुझाए तीन महिनाभित्र सभापतिले अर्ली महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । झन्डै ५ हजार ८ सय महाधिवेशन प्रतिनिधि रहेको कांग्रेसमा तत्कालै २५ प्रतिशतको हस्ताक्षर जुटाउन सजिलो छैन ।
संघदेखि स्थानीय तहसम्म धेरै ठाउँमा कांग्रेस सरकारमा छ । यो बेला जनतामा उत्साह भर्न सक्नुपर्ने कांग्रेस नेतृत्व भने किचलोमै अलमलिएको छ । पार्टीले जनताका एजेन्डा बोक्न सकेको छैन ।
पार्टीलाई चलायमान बनाउने भ्रातृ तथा शुभेच्छुक संस्थाहरु निष्कृय छन् । अधिकांश भ्रातृ संस्थाहरु दसक वितिसक्दा पनि अधिवेशनसमेत हुन सकेको छैन । उनीहरुलाई चलायमान बनाउन र जनता माझ पुग्न नै नेताहरुको आत्मबल कमजोर देखिएको छ । यो अवस्थामा पार्टीलाई गतिसिल बनाउन नसक्दा नेतृत्वकै विकल्प खोजिन थालेको हो ।
थप...
राष्ट्रिय राजनीतिदेखि पार्टीको आन्तरिक विषयसम्म चुक्दै नेपाली कांग्रेस