राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा गणतन्त्रबाट सम्भव भएको हो : मन्त्री शर्मा

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा गणतन्त्रबाट सम्भव भएको हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।

राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा बिहीबार आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताइन् । लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रतासमेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन् ।

‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो । यदि गणतन्त्र, लोकतन्त्र हुन्थ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौ होला,’ उनले भनिन्, ‘त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो । लोकतन्त्रले नै हो । गणतन्त्र, लोकतन्त्रको विकल्प फेरी पश्चगमन हुन सक्दैन । ’

सरकार सञ्चालनमा भएका त्रुटिहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ । उनले अगाडि भनिन्, ‘पछाडि फर्कने कुरा हुन सक्दैन । यो भन्दा त हिजोकै राजतन्त्र ठीक नि भन्ने खालका प्रश्न पनि उठ्ने गरेका छन् । तर विषय त्यस्तो होइन । गणतन्त्रको समाधान गणतन्त्रभित्रै सम्भव छ । लोकतन्त्रभित्र भएको समस्याको समाधान लोकतन्त्र भित्रै सम्भव छ ।’

राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रनु गणतन्त्रको दोष नभएको उनको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.