दुई करोडको अडियो : रवि कुटेजस्तो गर्ने, ढाका रोएजस्तो !

वैशाख ५, २०८० |कान्तिपुर टीभी संवाददाता
दुई करोडको अडियो : रवि कुटेजस्तो गर्ने, ढाका रोएजस्तो !

काठमाडौं । मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनुपर्ने भन्दै दुई करोड रुपैयाँ घुस मागेको अडियो विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले सभामुख देवराज घिमिरेलाई भेटेर आज हुने प्रतिनिधिसभा बैठकमा उपस्थित हुने जानकारी गराएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि माघ २९ गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

पार्टीको निर्णयबारे संसदीय दलका नेता एवं उपसभापति डोलप्रसाद अर्यालले चैत ३० गते संसदीय सचिवालयलाई पत्र लेखेका थिए ।

यस्तो पत्र प्राप्त भएपछि सभामुखले श्रेष्ठ पदमुक्त भएको सूचना टाँस्न लगाउनुपर्नेमा अहिलेसम्म सचिवालयले त्यस्तो सूचना टाँसेको छैन । पदमुक्त भएको सूचना टाँस नभएको अवस्थामा श्रेष्ठले प्रतिनिधिसभा बैठकमा भाग लिन चाहेका हुन् ।

तर, सभामुखले श्रेष्ठलाई बैठकमा आउँदा विवाद बढ्ने भएकाले आजको बैठकमा नआउन भनेको संसद सचिवालय स्रोतले बतायो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । पार्टीले पत्र पठाएको १५ दिनभित्र सचिवालयले ठोस निर्णय लिने पनि स्रोतले बतायो ।

‘तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु’

नेपालीमा एउटा उखान छ, तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु । ढाका कुमारको कारवाही प्रकरण पनि यही आहानजस्तो भएको छ ।

आफूलाई कारबाही गरिए पोल खोलिदिन्छु भन्दै श्रेष्ठले चेतावनी दिएपछि रवि लामिछानेले कागजमा मात्रै कारबाही गरेको तर व्यवहारमा श्रेष्ठलाई बचाउ गरिरहेको आशंका जन्मिएको छ ।

पार्टीले हटाएको भने पनि पछिल्लो समय श्रेष्ठ मौन छन् । लामिछानेले पनि श्रेष्ठको बारेमा कतै बोलेका छैनन् । बरु यसबीचमा श्रेष्ठले सभामुखलाई भेटेर आफू पार्टीमै रहेको र संसदीय दलमा आफ्नो पक्षमा पनि टिम रहेको भन्दै आफ्नो विरुद्ध सूचना नटाँस्न भनेका छन् ।

त्यसो त पार्टीले ढाकाकुमारमाथि कारबाही अघि बढाउन नचाहेको संकेत अर्को पनि छ । चैत २९ गतेकै बैठकले ढाकाकुमारको ठाउँमा समानुपातिक सांसद विन्दबासिनी कंसाकारलाई छनोटसमेत गरिसकेको थियो । अहिले कंसाकारलाई सांसद बनाउने निर्णयसमेत अलपत्र परेको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement